0Shares

पोखरा। नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय दुईदिने भेला ३० बुँदे ‘गण्डकी संकल्प–२०८३’ जारी गर्दै पोखरामा सम्पन्न भएको छ। पार्टीको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलाले सुशासन, नागरिकमैत्री सेवा, पर्यटन प्रवर्द्धन, आर्थिक सुधार, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक न्याय र संघीयताको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण संकल्पहरू पारित गरेको हो।

वैशाख ३१ र जेठ १ गते सम्पन्न कार्यशालामा गण्डकी प्रदेशका सभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, पार्टीका प्रदेश, जिल्ला, क्षेत्र तथा गाउँ–नगरपालिका सभापतिहरू सहभागी भएका थिए। भेलाले “समुन्नत नेपालको आधार गाउँ र नगरको समुन्नति” भन्ने अवधारणालाई आत्मसात गर्दै स्थानीय सरकारलाई अझ प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सुशासनदेखि सेवा प्रवाहसम्म जोड भेलाले संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै उत्तरदायी सरकार सञ्चालन गर्ने, विधि र पारदर्शितालाई प्राथमिकता दिने तथा सार्वजनिक सेवा प्रवाहलाई थप सरल र सहज बनाउने संकल्प गरेको छ। अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा विपन्न समुदायलाई घरदैलोमै सेवा दिने योजनालाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।

यस्तै, “शून्य बेरुजु स्थानीय तह” अभियानलाई प्राथमिकता दिँदै वित्तीय अनुशासन कायम गर्ने, प्रोजेक्ट बैंकमार्फत मात्र योजना छनोट गर्ने तथा कर प्रणालीलाई उद्यम–व्यवसायमैत्री बनाउने निर्णयसमेत गरिएको छ।

स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष जोड भेलाले “सबैलाई स्वास्थ्य बिमा” अभियानलाई प्रभावकारी बनाउने, गाउँ–नगर फार्मेसी, विद्यालय नर्स, डिजिटल हेल्थ प्रोफाइल तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम अघि बढाउने संकल्प गरेको छ।

शिक्षा क्षेत्रमा स्थानीय कला, संस्कृति र सीपमा आधारित पाठ्यक्रम विकास गर्ने तथा अनुसन्धानमुखी शिक्षालाई प्रवर्द्धन गर्ने नीति लिइएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्न “श्रमदेखि उद्यमसम्म” कार्यक्रम सञ्चालन गर्ने, रोजगार बैंक स्थापना गर्ने र महिलालाई उद्यमसँग जोड्न “उद्यमी आमा” जस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

पर्यटन र पूर्वाधार विकास प्राथमिकता पर्यटकीय प्रदेश गण्डकीलाई राष्ट्रिय समृद्धिको उदाहरण बनाउने लक्ष्यसहित मुक्तिनाथ–देवघाट–त्रिवेणीधाम पर्यटन करिडोर विकास, स्याटलाइट पर्यटन केन्द्र विस्तार तथा धार्मिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गर्ने संकल्प गरिएको छ। भेलाले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न संघीय सरकारसँग विशेष आग्रह गरेको छ।साथै, कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा बुढीगण्डकी र उत्तरगंगा जलाशययुक्त आयोजना शीघ्र अघि बढाउन माग गरिएको छ।

सामाजिक रूपान्तरण र संघीयताको पक्षमा आवाज घरेलु हिंसा, जातीय छुवाछूत, बालविवाह, लागू पदार्थ दुव्र्यसन तथा सामाजिक अन्धविश्वासविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। संघीयताको मर्मअनुसार अधिकार र बजेटको न्यायोचित वितरण सुनिश्चित गर्न संघीय सरकारलाई ध्यानाकर्षणसमेत गराइएको छ।

भेलाले “तीन स” — समन्वय, सहकार्य र सहअस्तित्व — को भावनाअनुसार संघीयता कार्यान्वयनमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

जरा अभियान’ मार्फत संगठन सुदृढीकरण नेपाली कांग्रेसको संगठनलाई डिजिटल प्रविधिमार्फत सुदृढ बनाउन “जरा अभियान” अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरिएको छ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछानेले दिएको जानकारी अनुसार, भेलाले पारित गरेका संकल्पहरूलाई आगामी नीति तथा कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected