0Shares

पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको सह–आयोजनामा लमजुङको बेँसीसहर नगरपालिका–४, पुरानकोटमा त्रिदिवसीय होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ।

पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको स्थानीय समन्वयमा आयोजित उक्त तालिममा ४० जना सहभागी रहेका थिए। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले तालिममार्फत होमस्टे सञ्चालन, पाहुना सत्कार, सरसफाइ, व्यवस्थापन, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटन सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको जानकारी दिएकी छन् ।

तालिममा भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा, डा. रामजी शर्मा तथा दीपेन्द्र पहारीले होमस्टे व्यवस्थापनका विविध विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी रुकु थापाले हाउसकिपिङ तथा सजिना गुरुङले सांस्कृतिक नृत्यसम्बन्धी प्रशिक्षण दिएकी थिइन ।

सहभागी होमस्टे सञ्चालकहरूले यस्ता व्यावहारिक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमले सेवा गुणस्तर सुधार गर्न, पर्यटक आकर्षित गर्न तथा स्थानीय आयआर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। तालिमबाट आफूहरूले होमस्टे सञ्चालनका विविध पक्षबारे उपयोगी जानकारी प्राप्त गरेको सहभागीहरूको भनाइ थियो।

तालिममा पुरानकोट, नाल्मा, तिलुङकोट, काउलेपानी तथा नरुवाल मगर होमस्टेका सञ्चालकहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृतिको संरक्षण तथा समुदायमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई भिटोफ गण्डकीका अध्यक्ष तथा कार्यक्रमका सभापति शोभा सापकोटासहित सल्लाहकारहरूले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा वक्ताहरूले ग्रामीण पर्यटन विकास, स्थानीय उत्पादनको प्रवर्द्धन तथा समुदायको आर्थिक सशक्तीकरणमा होमस्टे प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे।

यसअघि तालिम उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले होमस्टेमार्फत गाउँको समृद्धि हासिल गर्न सकिने बताइन। उनले चालु आर्थिक वर्षभित्र गण्डकी प्रदेशका होमस्टेहरूको स्तरीकरण सम्पन्न गरी स्तरीकृत होमस्टेलाई वेबसाइटमार्फत विश्वभर प्रचार–प्रसार गर्ने योजना रहेको जानकारी दिइन ।

मन्त्री रिमालले होमस्टेलाई कृषि पर्यटनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा उत्पादन हुने ताजा तथा अर्गानिक खानाले पर्यटक आकर्षित गर्ने बताइन । स्थानीय संस्कृति, परम्परा, खानपान र प्राकृतिक जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको सम्भावना अत्यन्त उच्च रहेको बताउँदै होमस्टे पर्यटनले गाउँको मौलिकता जोगाउँदै स्थानीयको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

बेँसीसहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ, वडा नं. ४ का अध्यक्ष गमबहादुर गुरुङ, भिटोफ गण्डकीका पूर्व अध्यक्ष रविन्द्र पौडेल तथा पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कन्याश्री गुरुङलगायतले होमस्टेको महत्व, ग्रामीण पर्यटन विकास तथा स्थानीय समुदायको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected