0Shares

घान्द्रुक, कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अवस्थित रमणीय पर्यटकीय गाउँ घान्द्रुक पछिल्ला दिनहरूमा भारतीय पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, हिमाली दृश्यावलोकन तथा सहज पहुँचका कारण भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार मुक्तिनाथ दर्शनका लागि नेपाल आउने धेरै भारतीय पर्यटक अहिले घान्द्रुकसम्म पुग्ने गरेका छन्। “दैनिक करिब ३०० जनासम्म भारतीय पर्यटक घान्द्रुक आउने गरेका छन्,” उनले भने।

भारतीय पाहुनाको निरन्तर आगमनसँगै स्थानीय बासिन्दाले समेत हिन्दी भाषा बोल्न सिकिसकेको उनको भनाइ छ। चिनियाँ पर्यटकको तुलनामा भारतीय पर्यटकसँग भाषागत रूपमा संवाद गर्न सहज हुने भएकाले पर्यटन व्यवसाय सञ्चालनमा थप सुविधा पुगेको उनले बताए।

घान्द्रुकमा भारतीय पर्यटकको सम्भावना केही वर्षअघिदेखि नै देखिन थालेको थियो। गत वर्ष घान्द्रुक भ्रमणका क्रममा धनगढीका मेयर गोपी हमालले निकट भविष्यमा भारतीय पर्यटकको चाप उल्लेखनीय रूपमा बढ्ने अनुमान व्यक्त गरेका थिए। घान्द्रुकस्थित होटल रक एण्ड मडमा बसेका उनले यो क्षेत्र भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने धारणा राखेका थिए।

होटलका सञ्चालक लक्षिण गुरुङका अनुसार त्यतिबेला गरिएको अनुमान अहिले यथार्थमा परिणत हुँदै गएको छ। “अहिले हाम्रो होटलमा आउने पाहुनामध्ये ठूलो हिस्सा भारतीय पर्यटकको छ। घान्द्रुक भारतीय पर्यटकको हब जस्तै बन्दै गएको छ,” उनले भने।

रोधिं क्लबका अध्यक्षसमेत रहेका गुरुङका अनुसार घान्द्रुकका होटल तथा होमस्टेहरूले एकै रातमा करिब ३ हजार पर्यटकलाई आवास सेवा दिन सक्ने क्षमता राख्छन्। पर्यटक आगमन बढेसँगै सवारीसाधनको चाप पनि बढेकाले पार्किङ व्यवस्थापनको जिम्मेवारी क्लबले सम्हालिरहेको उनले बताए।

“गाउँमा पाहुनाको संख्या बढेसँगै गाडीको चाप पनि बढेको छ। त्यसैले क्लबका सदस्यहरू मिलेर पार्किङ व्यवस्थापनमा जुटेका छौं,” उनले भने। घान्द्रुक पुग्ने सडकको स्तरोन्नति तथा मर्मतसम्भारमा पनि क्लबले पहल गरिरहेको उनको भनाइ छ। पर्यटकको सहज व्यवस्थापनका लागि घान्द्रुक भ्रमणमा आउँदा पूर्वबुकिङ गरेर आउनसमेत आग्रह गरिएको छ।

पर्यटक आगमनमा आएको वृद्धिसँगै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायले पनि राम्रो लाभ लिन थालेका छन्। भारतीय पर्यटकको बढ्दो आकर्षणले घान्द्रुकको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय समुदायले सेवा, सुविधा र पूर्वाधार सुधार गर्दै यस अवसरलाई दिगो पर्यटन विकाससँग जोड्ने प्रयाससमेत गरिरहेका छन्।

दैनिक सयौं भारतीय पर्यटकको आगमन, होटल तथा होमस्टेमा बढ्दो चाप र पर्यटन व्यवसायमा देखिएको उत्साहले घान्द्रुक भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected