
अन्नपूर्ण, कास्की । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा कुकुरको सङ्ख्या व्यवस्थापन र रेबिज नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीको आयोजनामा तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा कुकुरको बन्ध्याकरण र निःशुल्क रेबिजविरुद्ध खोप कार्यक्रम सम्पन्न भएको हो।
रोधी क्लब घान्द्रुकको समन्वयमा सञ्चालित अभियानअन्तर्गत ३७ वटा कुकुरको बन्ध्याकरणसँगै रेबिजविरुद्ध खोप लगाइएको छ। तीमध्ये १५ वटा घरपालुवा तथा बाँकी सडक कुकुर रहेका थिए।

रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिन गुरुङका अनुसार घान्द्रुकलाई पूर्ण रूपमा रेबिजमुक्त क्षेत्र बनाउने तथा सडक कुकुरहरूको अनियन्त्रित वृद्धि नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। पोखराबाट पुगेको पशु स्वास्थ्य प्राविधिक टोलीले कुकुरहरूको शल्यक्रिया, स्वास्थ्य परीक्षण र खोप सेवा प्रदान गरेको थियो।
अभियानले समुदायमा रेबिज संक्रमणको जोखिम न्यूनीकरण गर्नुका साथै पशु कल्याण प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित घान्द्रुकमा पर्यटक र स्थानीय बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले जनाए ।







सम्बन्धित खवर















