
पोखरा, असार ११ — लायन्स क्लब अफ पोखरा बाराही टाउनको वर्ष २०२६/२७ का लागि पद हस्तान्तरण (ह्यान्डओभर/टेकओभर) कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्रमोहन भट्टराईले समाजसेवामा महिलाको बढ्दो सक्रियता समाजमा सकारात्मक परिवर्तनको संकेत भएको बताए। उनले सकारात्मक जीवनशैली, सभ्य समाज निर्माण तथा सेवामूलक गतिविधिमा महिला नेतृत्वको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै व्यक्तिगत व्यस्तताका बाबजुद महिलाहरूले समाजसेवामा पुर्याइरहेको योगदान प्रशंसनीय रहेको बताए।
क्लबको नामअनुसारका गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गर्दै उनले समाजका समस्या पहिचान गरी महिला नेतृत्वमा अझ प्रभावकारी, रचनात्मक र सृजनशील कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे। सङ्ख्यात्मक विस्तारभन्दा कार्यको गुणस्तर र प्रभावकारितामा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
उनले आगामी दिनमा प्रेरणा, उत्प्रेरणा, सेवाभाव तथा आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरूप्रति सहयोगको भावना केन्द्रमा राखेर अघि बढ्नुपर्ने सुझाव दिए।
क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट काउन्सिलर कृष्ण श्रेष्ठले क्लब स्थापनादेखिका अनुभव सुनाउँदै महिला सदस्य मात्र रहेको क्लबलाई एकताबद्ध रूपमा नेतृत्व गर्दै अघि बढ्दा भोग्नुपरेका चुनौती र हालसम्म प्राप्त उपलब्धिबारे चर्चा गरिन्।
वर्ष २०२५/२६ की अध्यक्ष विजयालक्ष्मी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष तथा डिष्ट्रिक्ट एनएलएफ चिफ गङ्गा शर्मा केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव लक्ष्मीदेवी शर्माले गरेकी थिइन्।
कार्यक्रममा डिष्ट्रिक्टका एरिया लिडर सूर्य चपाई तथा पूर्व रिजन चेयरपर्सन माधव खड्काले राष्ट्रियदेखि स्थानीय तहसम्म महिला नेतृत्व र सहभागिता निरन्तर सशक्त बन्दै गएको बताए। पछिल्लो निर्वाचन परिणामले समेत महिला नेतृत्वलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनीहरूले यसलाई सकारात्मक र आशालाग्दो दिशाको रूपमा व्याख्या गरे।
समाजसेवामा महिलाको बढ्दो सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै नयाँ सोच, नवीन अवधारणा र सिर्जनशील कार्यक्रममार्फत सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

क्लबले वर्ष २०२५/२६ मा वृक्षारोपण, भलिबल खेलाडीलाई जर्सी वितरण, अपाङ्गतामैत्री समाजमा खाद्यान्न सहयोग, महिला सशक्तीकरणसम्बन्धी तालिम, प्रहरी चौकी छोरेपाटनमा विद्युतीय सामग्री हस्तान्तरण, मन्दिर सरसफाइ, जेन्जी आन्दोलनमा दिवङ्गत नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन, सातौँ चार्टर डे तथा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमलगायत विभिन्न सामाजिक गतिविधि सञ्चालन गरेको जनाएको छ।
हाल क्लबमा २० जना महिला सदस्य आबद्ध रहेका छन्। वर्ष २०२६/२७ का नवनिर्वाचित अध्यक्ष लक्ष्मी न्यौपाने ठकुरीले लायन्स क्लबको नीति, नियम, अनुशासन र संस्कारअनुसार सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
सो अवसरमा क्लबका २०२६/२७ का अध्यक्ष विजयालक्ष्मी खड्का लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय महाधिवेशन, हङकङमा सहभागी हुनु हुने हुँदा उहाँलाई सम्मानसहित शुभयात्रा बिदाई कार्यक्रम राखिएको थियो ।




























