0Shares

पोखरा । बालबालिकाको शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउँदै आएको बाबा फाउण्डेशन नेपालले पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित नवीन माध्यमिक विद्यालयका करिब ३५० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

फाउण्डेशनले विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजर, डस्टबिन, जालीसहितको भलिबल तथा फुटबल प्रदान गर्दै अध्ययनसँगै सरसफाइ र वातावरण संरक्षणप्रति सचेत बन्न आग्रह गरेको हो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले संस्थाले विगत दुई दशकदेखि बालबालिका तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए। उनले ‘स्वच्छ हराभरा पोखरा अभियान’मार्फत पोखरालाई सफा, हरियाली र वातावरणमैत्री सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।

पर्यटनको राजधानीका रूपमा परिचित पोखराको दिगो विकासका लागि स्वच्छ वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै श्रेष्ठले नयाँ पुस्तामा वातावरणीय चेतना अभिवृद्धि गर्न विद्यालय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

“आजका बालबालिकामा वातावरण संरक्षणको संस्कार विकास गर्न सकियो भने भविष्यमा पोखरा अझ सुन्दर, व्यवस्थित र हराभरा बन्न सक्छ,” उनले भने।

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। सामाजिक उत्तरदायित्व निर्वाहमा बाबा फाउण्डेशनले उदाहरणीय भूमिका खेलेको उल्लेख गर्दै उनले यस्ता संस्थासँगको सहकार्यले विद्यालय र समुदाय दुवैलाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताए।

विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएकोमा फाउण्डेशनप्रति आभार व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीको मनोबल वृद्धि हुनुका साथै सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष कमल पौडेल ‘अथक’, कोषाध्यक्ष दीपक अधिकारी, सदस्य श्रीराम घिमिरे तथा भूपेन्द्र गिरीलगायतले शिक्षा, बालअधिकार र वातावरण संरक्षणमा सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए।

पोखरामा स्थापित बाबा फाउण्डेशन नेपाल एक गैरसरकारी तथा गैरनाफामूलक संस्था हो। संस्थाले बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, बालअधिकार प्रवर्द्धन, शैक्षिक सामग्री वितरण तथा वातावरण संरक्षणका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। फाउण्डेशनद्वारा सञ्चालित ‘स्वच्छ हराभरा पोखरा अभियान’ पोखरालाई सफा, हरियाली र वातावरणमैत्री सहर बनाउने उद्देश्यका साथ निरन्तर अघि बढिरहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected