0Shares

अन्नपूर्ण, कास्की । विश्वप्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बसाइ अवधि बढाउने लक्ष्यसहित निर्माण गरिएको ५.५ किलोमिटर लामो चक्रीय पदमार्ग सम्पन्न भएको छ। नयाँ पदमार्ग सञ्चालनमा आएसँगै घान्द्रुकको पर्यटन गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा करिब २५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको पदमार्गले पर्यटकलाई प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नेछ। मुख्य बजार क्षेत्रबाट सुरु हुने यो पदमार्ग करिव तीन घण्टाको पैदल यात्रामा पूरा गर्न सकिने बताइएको छ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङका अनुसार पदमार्ग खोलोभ्रों बसपार्कबाट सुरु भई वडा कार्यालय, कोटगाउँ, पधेरो, घट्टेखोला, बलाचे पार्क, देउराली, बुद्ध पार्क, मेश्रम बराह, नेगु, चिया बगान, गैरीगाउँ/डाँडागाउँ हुँदै पुनः बसपार्कमै पुगेर टुंगिन्छ। यसले घान्द्रुकका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको एकैपटक अवलोकन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटन पूर्वाधार विस्तारले घान्द्रुकलाई अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले घान्द्रुक चक्रीय पदमार्गजस्तै अन्य पर्यटन पूर्वाधार तथा पदमार्ग योजनाहरूलाई अघि बढाउन सङ्घीय सरकार र सम्बन्धित निकायसँग सहकार्यलाई निरन्तरता दिइने जानकारी दिए।

“पर्यटन क्षेत्रको दिगो विकास र स्थानीय आर्थिक समृद्धिका लागि गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक पहल र लगानीलाई निरन्तरता दिनेछ,” अध्यक्ष केसीले बताए।

योजनाको अनुगमन गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल तथा प्राविधिक टोलीले गरेको थियो। उपाध्यक्ष देवकोटाले पदमार्ग निर्माणमा गुणस्तर र दिगोपनालाई विशेष प्राथमिकता दिइएको बताइन्।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार नयाँ पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको बसाइ अवधि बढ्ने, होटल तथा होमस्टे व्यवसायले प्रत्यक्ष लाभ लिने र स्थानीय अर्थतन्त्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ। घान्द्रुक चक्रीय पदमार्ग उपभोक्ता समितिका अध्यक्ष कृष्ण गुरुङले पदमार्गले स्थानीय पर्यटन व्यवसायलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे।

त्यसैगरी, रोधी क्लब घान्द्रुकका उपाध्यक्ष अमृत लामा गुरुङले घान्द्रुकको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई नजिकबाट अनुभव गराउने यो पदमार्ग पर्यटन प्रवर्द्धनको नयाँ आकर्षण बन्ने बताए।

नयाँ चक्रीय पदमार्गसँगै घान्द्रुक अब केवल हिमाल अवलोकनको गन्तव्य मात्र नभई प्रकृति, संस्कृति र ग्रामीण जीवनशैलीको समग्र अनुभव लिन सकिने आकर्षक पदयात्रा केन्द्रका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected