
हङकङ। नेपालको लायन्स आन्दोलनका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको घटनाक्रममा लायन नेता राजन लम्साल (एमडी ३२५, नेपाल) लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय निर्देशक (इन्टरनेसनल डाइरेक्टर) पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। हङकङमा जारी संस्थाको १०८औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उनी इसामे (भारत, दक्षिण एसिया तथा मध्यपूर्व) क्षेत्रका आधिकारिक रूपमा अनुमोदित उम्मेदवार हुन्।
लम्सालको उम्मेदवारीलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नेतृत्व क्षमता, सेवा भावना र सक्रिय भूमिकालाई अझ सशक्त बनाउने अवसरका रूपमा नेपाली लायन्स समुदायले लिएको छ। उनी निर्वाचित भएमा लायन्स अन्तर्राष्ट्रियको नीति निर्माण र नेतृत्व तहमा नेपालको प्रतिनिधित्व थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
लामो समयदेखि लायन्स अभियानमा सक्रिय लम्सालले क्लब, डिष्ट्रिक्ट, मल्टिपल डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय तहका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन्। यही अनुभव र नेतृत्व क्षमताका आधारमा उनी अन्तर्राष्ट्रिय निर्देशक पदका बलिया दाबेदारका रूपमा हेरिएका छन्।
यसपटक इसामे क्षेत्रबाट अन्तर्राष्ट्रिय निर्देशक पदका लागि चार जना आधिकारिक उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूमा राजन लम्साल (एमडी ३२५, नेपाल)सहित विनय मित्तल (एमडी ३२१, भारत), सुरज बागला (एमडी ३२२, भारत) र एस.टी. श्रीनिवासन (एमडी ३२४, भारत) रहेका छन्। इसामे क्षेत्रले सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग आधिकारिक उम्मेदवारहरूको पक्षमा मतदान गर्न आह्वान गरेको छ।
महाधिवेशनमा सहभागी नेपालका प्रतिनिधिहरूले लम्सालको उम्मेदवारीलाई राष्ट्रिय प्रतिष्ठा र गौरवसँग जोडिएको विषयका रूपमा लिँदै उनको पक्षमा व्यापक समर्थन जुटाइरहेका छन्। नेपाली लायन्स वृत्तले यो उम्मेदवारीलाई नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रभाव विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।
विश्वकै सबैभन्दा ठूलो सेवा संस्थामध्ये एक लायन्स अन्तर्राष्ट्रियले दृष्टि संरक्षण, मधुमेह नियन्त्रण, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, बाल क्यान्सर तथा अन्य मानवीय सेवाका क्षेत्रमा विश्वभर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस्तो प्रतिष्ठित संस्थाको अन्तर्राष्ट्रिय निर्देशक पदमा नेपालको उम्मेदवारीले नेपाली लायन्स समुदायमा नयाँ उत्साह र आशा जगाएको छ।

















