0Shares

५५ वर्षपछि लायन्स अन्तर्राष्ट्रियको उच्च नेतृत्वमा नेपालको अर्को ऐतिहासिक फड्को:शिक्षा–स्वास्थ्य–पर्यटनमा अन्तर्राष्ट्रिय ग्रान्ट भित्र्याउने प्रतिबद्धता

हङकङ विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्था लायन्स क्लब्स इन्टरनेसनलको अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा नेपालका राजन लम्साल निर्वाचित भएका छन्।हङकङमा आयोजित लायन्सको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट उनी विश्व नेतृत्वमा चयन भएका हुन्। जुलाई ३ देखि ७ सम्म पाँच दिन सञ्चालन भएको सम्मेलन मंगलबार सम्पन्न हुदैछ ।

करिब १४ लाख सदस्य रहेको लायन्स क्लब्स इन्टरनेसनल विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा सक्रिय छ। लम्साल विश्वभरबाट निर्वाचित हुने १८ अन्तर्राष्ट्रिय डाइरेक्टरमध्ये एक हुन्। उनको कार्यकाल २०२६–२०२८ (दुई वर्ष) रहनेछ। उनले विशेषतः भारत, दक्षिण एसिया तथा मध्यपूर्व क्षेत्रसँग सम्बन्धित विषयमा प्रतिनिधित्व गर्नेछन्।

नेपालमा लायन्स स्थापना भएको ५५ वर्षपछि अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने उनी तेस्रो नेपाली हुन्। यसअघि सञ्जय खेतान (२०१५–१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२५) ले अन्तर्राष्ट्रिय नेतृत्वमा नेपाललाई प्रतिनिधित्व गरेका थिए।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीका अनुसार नेपालको लायनवादको इतिहासमा लम्सालको निर्वाचन अर्को ऐतिहासिक उपलब्धि हो।

लायन्स क्लब अफ काठमाडौं सामाखुशीका संस्थापक अध्यक्षसमेत रहेका लम्सालले अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित भएपछि यस उपलब्धिले आफूलाई अझ जिम्मेवार र सेवामुखी बन्न प्रेरित गरेको बताए।

उनले नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण तथा पर्यटन क्षेत्रमा लायन्स अन्तर्राष्ट्रियमार्फत थप अन्तर्राष्ट्रिय ग्रान्ट ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

पदभन्दा सेवा ठूलो हो। नयाँ पुस्तालाई आकर्षित गर्दै प्रविधिमैत्री सेवामार्फत लायनवादलाई अझ प्रभावकारी र समावेशी बनाउने मेरो प्राथमिकता हुनेछ,” उनले भने।

लम्सालले सदस्य संख्या बढाउने मात्र नभई नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने, आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने तथा नेपालका सेवामूलक अनुभवलाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि लायन्स अन्तर्राष्ट्रियसँग सहकार्यका विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

लायन्स क्लब अफ काठमाडौं सामाखुशीका पूर्व अध्यक्ष हेमराज बरालले नेपालमा लायन्स स्थापना भएको ५५ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए।

राजन लम्साल : एक परिचय

जन्म: वि.सं. २०२६, ज्याग्दी खोला, स्याङ्जा

पिता: पदमराज लम्साल

माता: पुष्पा लम्साल

स्थायी ठेगाना: स्याङ्जा

हालको बसोबास: सामाखुशी टाउन प्लानिङ, काठमाडौं महानगरपालिका–२६

शैक्षिक योग्यता

  • प्रारम्भिक शिक्षा : जनप्रिय माध्यमिक विद्यालय, स्याङ्जा
  • एसएलसी : बुटवल माध्यमिक विद्यालय (वि.सं. २०४३)
  • प्रवीणता तह (व्यवस्थापन) : पिपुल्स क्याम्पस, काठमाडौं
  • स्नातक (व्यवस्थापन) : शंकरदेव क्याम्पस, काठमाडौं

व्यावसायिक यात्रा

लम्साल ट्राभल, होटल, म्यानपावर, शिक्षा, बैंकिङ, जलविद्युत् तथा शेयर ब्रोकर व्यवसायमा सक्रिय छन्। उनी “सामाजिक विकासका लागि सहयोगी हातहरू” संस्थाका संस्थापक अध्यक्ष पनि हुन्।

लायन्स यात्राका प्रमुख चरण

  • १९९७ : लायन्स सदस्यता
  • २००१ : संस्थापक अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं सामाखुशी
  • २०१०–११ : डिष्ट्रिक्ट गभर्नर
  • २०११–१२ : मल्टिपल काउन्सिल चेयरपर्सन
  • २०१२–१४ : एसएफएमडी चेयरपर्सन
  • २०१४–१९ : जीएलटी को-अर्डिनेटर
  • २०१७–१९ : स्पेसियालिटी क्लब कन्ट्री को-अर्डिनेटर
  • २०१९–२२ : जीएमटी को-अर्डिनेटर
  • २०२२–२५ : एलसीआईएफ एरिया लिडर
  • २०२६–२८ : अन्तर्राष्ट्रिय डाइरेक्टर

उल्लेखनीय उपलब्धि

  • लायन्सको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित।
  • डिष्ट्रिक्ट गभर्नरका रूपमा ६५ नयाँ लायन्स क्लब स्थापना गरी विश्वस्तरीय कीर्तिमान।
  • डिष्ट्रिक्ट भवन निर्माण अभियान सफलतापूर्वक सम्पन्न।
  • नेतृत्व विकासका अन्तर्राष्ट्रिय प्रशिक्षक।
  • एलसीआईएफमार्फत स्वास्थ्य, शिक्षा तथा विपद् व्यवस्थापन परियोजनामा सक्रिय योगदान।

सामाजिक योगदान

  • राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका संस्थापक अभियन्तामध्ये एक तथा दीर्घकालीन केन्द्रीय सल्लाहकार।
  • देशभर १३३ भन्दा बढी पुस्तकालय स्थापना अभियानमा योगदान।
  • छात्रवृत्ति, शिक्षाकोष तथा अक्षयकोष स्थापना।
  • तराईका विभिन्न जिल्लामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियानको नेतृत्व।
  • स्याङ्जामा सडक, विद्यालय, अस्पताल, विद्युत् विस्तार तथा सामुदायिक विकासमा सक्रिय भूमिका ।
  • संस्थापक सचिव हाल उपाध्यक्ष : लायन्स मनाराम प्रतिष्ठान

परिवार

जीवनसंगिनी : लायन इन्दु लम्साल (पूर्व डिष्ट्रिक्ट गभर्नर तथा Ambassador of Goodwill बाट सम्मानित)

सन्तान : दुई छोरा

जीवन दर्शन

पदले होइन, सेवाले मानिसको उचाइ मापन हुन्छ। सकारात्मक सोच, निस्वार्थ कर्म र इमानदार नेतृत्व नै सफल जीवनका आधार हुन्।”

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected