0Shares

पोखरा, श्रावण २। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपालको वातावरण सचेतना विभागले शनिबार पोखरा महानगरपालिका–१४ स्थित पुष्करिणी परोपकार गोकुलधाम (बाच्छीबुडुवा) मा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, डीजी टिम, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा गण्डकी क्षेत्रका विभिन्न लायन्स क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागितामा फलफूल, छायाँ र वातावरणमैत्री प्रजातिका सयौं बिरुवा रोपिएका थिए। कार्यक्रम वातावरण सचेतना विभागका संयोजक गंगा विलास लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। डिष्ट्रिक्ट को-अर्डिनेटर शोभा बानियाँ, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णुप्रसाद लामिछाने लगायतको सक्रिय सहभागिता रहेको कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट एडिशनल सेक्रेटरी दामोदर आचार्यले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर केसीले वृक्षारोपणलाई जलवायु परिवर्तनको चुनौती सामना गर्ने प्रभावकारी उपायका रूपमा उल्लेख गर्दै हरित वातावरण निर्माण भावी पुस्ताप्रतिको साझा दायित्व भएको बताए। उनले वृक्षारोपणलाई केवल औपचारिकतामा सीमित नराखी संरक्षण र दीर्घकालीन व्यवस्थापनमा जोड दिन आग्रह गरे।

गोकुलधामका परिकल्पनाकार एवं संरक्षक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले वृक्ष र मानव जीवनबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्दै रोपणसँगै संरक्षण संस्कृतिको विकास आवश्यक रहेको बताए। उनका अनुसार गोकुलधाम अहिले केवल गौ संरक्षण केन्द्र नभई सेवा, प्रकृति संरक्षण र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित गोकुलधाममा हाल ३२७ भन्दा बढी गोवंशको संरक्षण भइरहेको छ। तीन वर्षअघि सडकमा छाडिएका चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणमा गोकुलधामले उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गौतमले यसको सञ्चालनपछि त्यस्ता दुर्घटना शून्य अवस्थामा पुगेको दाबी गरे।

गोकुलधाममा अशक्त, वृद्ध, बिरामी तथा दूध दिने गाईहरूको छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ। यहाँ दैनिक करिब ७० लिटर दूध उत्पादन हुने गरेको छ भने गोबर र गहुँतबाट प्राङ्गारिक मल, गँड्यौला मल, झोल मल उत्पादनसँगै अर्ग्यानिक तरकारी खेतीसमेत सञ्चालन भइरहेको छ। १४ जना कर्मचारी कार्यरत रहेको गोकुलधामलाई महानगरपालिकाबाट वार्षिक करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भए पनि त्यो रकम चार-पाँच महिनाको खर्च मात्र धान्ने भएकाले बाँकी सञ्चालन दातृ संस्था र सेवाभावी व्यक्तिहरूको सहयोगबाट भइरहेको जानकारी दिइयो।

राष्ट्रिय परोपकार महासङ्घ नेपालले ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित कल्पवृक्ष अभियान, गौ संरक्षण, ज्येष्ठ नागरिक चौतारी, धर्मशाला, अन्नक्षेत्र, गुरुकुल तथा बाल आश्रम सञ्चालनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

गौतमका अनुसार भविष्यमा गोकुलधामलाई गौ संरक्षण केन्द्रमा मात्र सीमित नराखी खुला सिकाइ केन्द्र, आध्यात्मिक गन्तव्य, ध्यान–साधना तथा सेवाको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको सुनाए। वृक्षारोपण अभियानले गोकुलधामलाई थप हराभरा, पर्यावरणमैत्री र आकर्षक बनाउँदै वातावरण संरक्षण, गौ संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा सामाजिक सेवाको सशक्त सन्देश प्रवाह गरेको गौतमको भनाई छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected