0Shares

पोखरा, साउन २ गते। जिल्ला प्रशासन कार्यालय, कास्कीले लगातारको वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा साउन २ र ३ गते गण्डकी प्रदेशसहित कास्कीमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, खोला–नाला तथा नदी किनारमा नजान, र रातिको समयमा लामो दूरीका यात्रा नगर्न अनुरोध गरेको छ। साथै, बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै कास्कीबाट बाहिरिने तथा भित्रिने र पोखराबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरू रातिको समयमा सञ्चालन नगर्न पनि आग्रह गरिएको छ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न, मौसम विभागबाट जारी हुने पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न र कुनै पनि विपद्को घटना भएमा तत्काल जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय प्रशासन वा आपतकालीन सेवामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले विपद् न्यूनीकरणका लागि सबै नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सतर्कता आवश्यक रहेको उल्लेख गर्दै सम्भावित क्षति न्यूनीकरणमा सहयोग गर्न सबैमा अपिल गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected