पोखरा–१७ मा अत्याधुनिक ‘फिजियोफिटनेस पेन एन्ड रिह्याबिलिटेसन सेन्टर’ सञ्चालनमा
- July 19, 2026
- 180

स्वदेशमै गुणस्तरीय फिजियोथेरापी सेवा विस्तार गर्ने प्रतिबद्धता, युवालाई नेपालमै अवसर सिर्जना गर्न आग्रह
पोखरा, साउन ३। पोखरा महानगरपालिका–१७, बिरौटास्थित हिमाली टोलमा अत्याधुनिक उपकरणसहितको फिजियोफिटनेस पेन एन्ड रिह्याबिलिटेसन सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। आधुनिक तथा वैज्ञानिक स्वास्थ्य सेवामार्फत गुणस्तरीय फिजियोथेरापी तथा पुनःस्थापना सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सेन्टरको शनिबार एक समारोहबीच उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको लगानी स्वास्थ्य क्षेत्रमा विस्तार हुनु सकारात्मक संकेत भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

विशेष अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा. डा. भरतबहादुर खत्रीले फिजियोथेरापी आधुनिक स्वास्थ्य उपचारको अपरिहार्य अंग बन्दै गएको उल्लेख गर्दै वैज्ञानिक उपचार पद्धतिको विकाससँगै यस्ता संस्थाको आवश्यकता झन् बढ्दै गएको बताए।
पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्यले महानगरले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै निजी क्षेत्रबाट सञ्चालनमा आएका यस्ता संस्थाले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य सेवा विस्तारमा महानगरपालिकाले आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको पनि बताए।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले युवाहरूले विदेशतर्फ मात्र आकर्षित हुने प्रवृत्तिलाई परिवर्तन गर्दै स्वदेशमै उद्यम र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको लगानीले सामाजिक उत्तरदायित्वसँगै आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने उनको भनाइ थियो।
सेन्टरका अध्यक्ष प्रकट खनालले गण्डकी प्रदेशमै सुविधा सम्पन्न फिजियोथेरापी केन्द्र स्थापना गर्ने लक्ष्यसहित करिब एक करोड रुपैयाँको लगानी गरिएको जानकारी दिए। विदेशमा अध्ययन तथा अनुभव हासिल गरेपछि स्वदेश फर्केर नागरिकको स्वास्थ्य सेवामा योगदान पुर्याउने उद्देश्यले यो संस्था सञ्चालनमा ल्याइएको उनले बताए।
“विदेशमा बसेर सिकेको ज्ञान र सीप आफ्नै देशका नागरिकको सेवामा प्रयोग गर्ने चाहनाले हामीलाई यहाँसम्म ल्याएको हो। गुणस्तरीय उपचारका लागि अब धेरै टाढा जानुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो प्रयास रहनेछ,” अध्यक्ष खनालले भने।
निर्देशक युद्ध बरालले बढ्दो जीवनशैलीजन्य समस्या, खेलकुदका चोटपटक, नसासम्बन्धी समस्या, पक्षघात, ढाड, घुँडा, काँध तथा गर्दनको दुखाइ लगायतका बिरामीलाई एउटै स्थानबाट विशेषज्ञ सेवा उपलब्ध गराइने जानकारी दिए।
“सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न सके सक्षम युवाहरू विदेशिनुपर्ने अवस्था घट्छ। हामीले सुरु गरेको यो प्रयासले स्वास्थ्य क्षेत्रसँगै युवामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाउने अपेक्षा गरेका छौँ,” निर्देशक बरालले बताए।
सेन्टरमा अर्थोपेडिक तथा न्युरोलोजिकल पुनःस्थापना, स्पोर्ट्स इन्जुरी व्यवस्थापन, पोस्ट–सर्जिकल रिह्याबिलिटेसन, इलेक्ट्रोथेरापी, एक्सरसाइज थेरापी, फङ्क्सनल रिह्याबिलिटेसन तथा विशेषज्ञ परामर्श सेवा उपलब्ध हुने जनाइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। भविष्यमा सेवा विस्तार गर्दै अत्याधुनिक फिजियोथेरापी क्लिनिकका रूपमा विकास गर्ने लक्ष्य सेन्टरले लिएको छ।
















