
पोखरा — गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको पाँचौं अधिवेशन तथा एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह–कोषाध्यक्षमा शरण गुरुङ चयन भएका छन्। सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा रहेका छन्।
अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासमार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताइन्। उनले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र मौलिक पहिचानलाई पर्यटनसँग जोड्दै गाउँको समग्र विकास गर्नुपर्नेमा जोड दिइन्।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले ‘हरेक गाउँ पर्यटकीय गन्तव्य’ बनाउने लक्ष्यसहित प्रदेशका विभिन्न पर्यटकीय गाउँहरूको प्रवर्द्धन र विकासमा संस्था सक्रिय रहेको जानकारी दिइन्। संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँ र सहरबीच पर्यटनमार्फत सहकार्य बढाउँदै समृद्ध ग्रामीण अर्थतन्त्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भिटोफसँगको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि, पर्यटनकर्मी तथा सञ्चारकर्मीहरूले गाउँ पर्यटनको सम्भावना, चुनौती र विकासका अवसरबारे धारणा राखेका थिए।
सोही अवसरमा गाउँ पर्यटनको विकासमा सञ्चार माध्यममार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
















