संस्थापन इतरको ५ बुँदे प्रस्ताव सार्वजनिक, गगन थापाको नेतृत्वमा कार्यसमिति पूर्णता दिन माग

काठमाडौं। नेपाली कांग्रेसभित्र जारी शक्ति संघर्षका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्तावमा गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेदेखि १५ औं महाधिवेशनको कार्यतालिका तत्काल घोषणा गर्नुपर्नेसम्मका माग समेटिएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति तथा जिल्ला सभापतिहरूको बैठकपछि सार्वजनिक गरिएको प्रस्तावमा चौधौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी नयाँ कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ।
प्रस्तावमा सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिबाट १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने तथा महाधिवेशनसम्बन्धी विभिन्न समितिहरू वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने माग पनि गरिएको छ।
क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न तत्कालीन महामन्त्री तथा हालका सभापति गगन थापाको संयोजकत्वमा रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वतः सहभागी गराउने र डिजिटल अभिलेखीकरणलाई केवल नवीकरणको प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ।
संस्थापन इतर समूहले पार्टी एकताका विषयमा आफूहरूमाथि फैलाइएको प्रचारलाई “भ्रमपूर्ण, मिथ्या र भ्रामक” भन्दै खण्डन गरेको छ। नेता मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा नियमित महाधिवेशनका पक्षधरहरूले असम्भव प्रस्ताव अघि सारेर एकतालाई असहज बनाएको भन्ने प्रचार निराधार रहेको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएका प्रस्तावमाथि २०८३ जेठ १८ गते नै छलफल गरी सहमति हुन सक्ने संशोधित प्रस्तावसहित जवाफ पठाइसकिएको पनि उल्लेख गरिएको छ।
कांग्रेसभित्र नेतृत्व, संगठन र १५ औं महाधिवेशनको तयारीलाई लिएर चर्किएको बहसका बीच सार्वजनिक भएको यो पाँच बुँदे प्रस्तावले पार्टीभित्रको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
















