0Shares

पोखरा — नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टी सभापति गगनकुमार थापालाई कठिन परिस्थितिमा साहसिक निर्णय गर्दै कांग्रेसको भावी इतिहासलाई नयाँ दिशा दिन आग्रह गरेका छन्।

थापालाई सम्बोधन गर्दै बरालले लेखेको लामो पत्रमा उनले गगनले राजनीतिक रूपमा मात्र नभई जनताको हृदयसमेत जितिसकेको उल्लेख गरेका छन्। उनले पार्टीभित्रका पछिल्ला विवाद, आलोचना र विभिन्न समूहका मागलाई ‘तपसिलका विषय’ भन्दै त्यसबाट माथि उठेर अघि बढ्न थापालाई सुझाव दिएका छन्।

बरालले पत्रमा लेखेका छन्, “गगनजी, तपाईंले राजनीति जितिसक्नुभएको छ, हृदय जितिसक्नुभएको छ।”

उनले पार्टीभित्रका विभिन्न पक्षबाट आउने आलोचना, गालीगलौज, मुद्दा फिर्तालगायतका विषयलाई धेरै महत्व नदिन आग्रह गर्दै भनेका छन् ।

“यी सबै तपसिलका कुराहरू हुन्, झिनामसिना कुराहरू हुन्। यस्ता कुराहरू किसुनजीले भन्नुभएजस्तै सचेत विस्मृतिमा राखेर अगाडि बढ्नुहोस्।”

गगनको राजनीतिक भविष्य उज्ज्वल रहेको दाबी गर्दै बरालले उनको ‘राजनीतिक राजमार्ग’ खुला र सफा रहेको उल्लेख गरेका छन्।

तपाईंको राजनीतिक राजमार्ग खुला छ, सफा छ। ढुक्क हुनुहोस्,” उनले भनेका छन्।‘आलोचकलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाउनुहोस्’

बरालले नेतृत्वको वास्तविक परीक्षा आफ्ना समर्थकलाई मात्र होइन, आलोचकलाई समेत सुरक्षित र निश्चिन्त महसुस गराउन सक्नुमा हुने बताएका छन्।

“नेतृत्व भनेको आफ्ना आलोचकहरूलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाइदिनु पनि हो,” पत्रमा उल्लेख छ।

उनले पार्टीभित्रका असन्तुष्ट पक्षका माग सम्बोधन गर्न र उनीहरूले उठाएका विषयमा आवश्यक पहल गर्न थापालाई आग्रह गरेका छन्। साथै, थापाको वरिपरि रहेका स्वार्थसम्बद्ध समूहप्रति पनि सचेत रहन सुझाव दिएका छन्।

“तपाईंको वरिपरि पनि तपाईंको दौराको फेरो समातेर मात्रै बैतर्णी तर्न सक्नेहरूको संख्या सानो छैन, गम्भीर हुनुहोस्,” बरालले लेखेका छन्।

बरालले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा सम्पन्न गर्न आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

उनले थापाले यसअघि व्यक्त गरेको प्रतिबद्धताअनुसार सबै पक्षको प्रतिनिधित्व हुने गरी आवश्यक समिति गठन गर्न र महाधिवेशनका लागि अधिकार सम्पन्न संरचना बनाउन सुझाव दिएका छन्।

“दुनियाँले राम्रोसँग देख्न, सुन्न र महसुस गर्न सक्ने गरी सबैको सहमतिमा १५औँ महाधिवेशन गर्नका लागि आवश्यक सबै अधिकारहरू प्रत्यायोजन गरेर एउटा अधिकार सम्पन्न समिति बनाईदिनुहोस्,” उनले आग्रह गरेका छन्।

बरालले केन्द्रदेखि प्रदेश, जिल्ला तथा मातहतका कार्यसमितिहरूबारे समेत आवश्यक निर्णय गरेर महाधिवेशनको बाटो खुला गर्न सुझाव दिएका छन्।

बरालले इतिहासमा नेताहरू केवल चुनाव जितेर वा पदमा बसेर महान् नबनेको तर्क गर्दै कठिन समयमा सही निर्णय गर्ने नेतृत्व नै इतिहासमा स्मरणीय हुने बताएका छन्।

“कठिन समयमा ठूलो कुरा बोल्नुभन्दा ठूलो निर्णय गर्ने साहस चाहिन्छ,” उनको पत्रमा भनिएको छ।

उनले थापालाई अहिलेको अवसरलाई नेपाली कांग्रेसको भावी इतिहास बदल्ने अवसरका रूपमा प्रयोग गर्न आग्रह गरेका छन्।

“आज तपाईंले यो निर्णय गरेर नेपाली कांग्रेसको भावी इतिहासलाई एउटा नयाँ बाटो दिन सक्नुहुन्छ। सन्देश दिन सक्नुहुन्छ। कांग्रेस विभाजन गर्न खोज्नेहरूलाई जवाफ दिन सक्नुहुन्छ,” बरालले लेखेका छन्।

उनका अनुसार राजनीतिक जीवनमा हरेक कुरा आफ्नो पक्षमा पार्न आवश्यक हुँदैन। कहिलेकाहीँ तत्कालको जितभन्दा दीर्घकालीन इतिहास महत्वपूर्ण हुन्छ।

“राजनीतिमा सबै कुरा जित्नु पर्दैन। कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ,” उनले भनेका छन्।

पत्रको अन्त्यमा बरालले थापालाई असाधारण निर्णय गरेर इतिहासमा स्मरणीय बन्न शुभकामना दिएका छन्।

“भोलिका सन्ततिहरूले इतिहासमा यस्तो मानिस पनि जन्मिएको थियो र ? भनेर विश्वास गर्नसमेत कठिन हुने एउटा अद्भुत रहस्य बनिदिनुहोस्,” बरालले लेखेका छन्।

कास्कीका नेता बरालले २०८३ साल श्रावण २६ गते बिहान करिब ४ बजे लेखेको उक्त पत्रलाई उनले आफ्नो मनमा लामो समयदेखि चलेका विचार र खुल्दुलीको परिणामका रूपमा प्रस्तुत गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected