
पोखरा । गाईघाट, उदयपुर स्थायी घर भई हाल पोखरा–महेन्द्रपुलमा बस्दै आएकी विनिता राईको असामयिक निधनपछि परिवारलाई सहयोग गर्न सञ्चालन गरिएको अभियानबाट छोटो समयमै रु. ४४ हजार सहयोग संकलन भएको छ।
दुवै मिर्गौला फेल भई उपचाररत राईको २०८३ साउन २७ गते निधन भएको थियो। उहाँको काजक्रिया खर्च तथा कञ्चनजङ्घा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत छोरी श्रीया राईको शिक्षालाई निरन्तरता दिन सहयोग जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
प्रभात आर्ट्सकी सञ्चालक बिन्दुकला खनाल सुवेदीको पहलमा सुरु गरिएको अभियानअन्तर्गत करिब दुई घण्टामै रु. ३४ हजार सहयोग संकलन भएको सुवेदीले जानकारी दिइन्। राईको काजक्रियाका लागि परिवार काठमाडौं प्रस्थान गरिसकेको जनाइएको छ।
अभियानबारे जानकारी पाएपछि अस्ट्रेलियाबाट ओजस्वी सुवेदी र इन्दु घिसिङले समेत रु. १० हजार ६४२ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उक्त रकम भने हस्तान्तरण हुन बाँकी रहेको सुवेदीले बताइन्। यससँगै प्रतिबद्ध रकमसमेत जोड्दा अभियानमा रु. ४४ हजारभन्दा बढी सहयोग जुट्ने भएको छ।
आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्ने दाता, शुभेच्छुक तथा अभियानलाई सामाजिक सञ्जालमार्फत शेयर गरी सहयोग पुर्याउने सबैप्रति अभियानमा सहभागीले आभार व्यक्त गरेको छ।
“सहयोग रकमभन्दा ठूलो कुरा सहयोगी मनहरूले देखाउनुभएको मानवता, सद्भाव र आत्मीयता हो,” अभियानकी पहलकर्ता सुवेदीले भनिन्।
कठिन परिस्थितिमा प्राप्त सहयोगले शोकसन्तप्त परिवारलाई आर्थिक राहतसँगै ठूलो हौसला मिलेको सुवेदीको भनाई छ। विशेषगरी श्रीया राईको शिक्षालाई निरन्तरता दिन आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।
परिवार तथा अभियानकर्ताले अभियानमा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक र सहयोगी मनहरूप्रति पुनः हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन्।













