0Shares

अन्नपूर्ण, कास्की । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकाय एकजुट भएका छन्। विपद्को कठिन घडीमा अन्नपूर्ण गाउँपालिकालाई छिमेकी स्थानीय तहसहित विभिन्न संघसंस्थाले सहयोगको प्रतिबद्धता जनाउँदै ‘विपद्मा एकता, सहयोगमा साथ’को भावना प्रस्तुत गरेका छन्।

अन्नपूर्ण गाउँपालिकामा गत साता गएको बाढीपहिरोबाट सिर्जित विपद् व्यवस्थापन तथा क्षतिग्रस्त सडक र भौतिक संरचना पुनर्निर्माणका लागि माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकाले जनही ५/५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई भेट गरी सहयोगको प्रतिबद्धता जनाएका हुन्। उनीहरूले विपद्का बेला एकअर्काको दुःखमा साथ दिनु नै स्थानीय सरकारको शक्ति र सहकार्यको महत्वपूर्ण आधार भएको बताएका छन्।

छिमेकी पालिकाका अध्यक्षहरूले अन्नपूर्णमा परेको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि प्रभावित क्षेत्रमा काम अघि बढाउन थप हौसला मिलेको अध्यक्ष केसीले बताए। केसीले भने,-अन्नपूर्णको सडक पूर्वाधार पुनर्निर्माणमा देखिएको यो सहकार्यले विपद्का बेला स्थानीय सरकारहरूबीचको आपसी समन्वय, सद्भाव र साझा जिम्मेवारीलाई थप मजबुत बनाएको छ।

यसैबीच, बाढीपहिरो प्रभावित अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालले ३ लाख रुपैयाँ सहयोग गरिसकेको छ। प्रभावित क्षेत्रमा तत्काल आवागमन सहज बनाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

त्यस्तै, गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले प्रारम्भिक चरणमा आवश्यक ग्याबिन जाली उपलब्ध गराएको छ। नेपाली सेनाले ग्याबिन जाली भर्ने कार्यका लागि १०० जना स्वयंसेवक परिचालन गरेको छ भने उपल्लो मोदीखोला जलविद्युत् कम्पनीले सडक मर्मत तथा पुनर्निर्माणका लागि एक्साभेटर मेसिन उपलब्ध गराएको छ।

बाढीपहिरोबाट अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ मा सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सडक अवरुद्ध हुँदा स्थानीय नागरिकको दैनिक आवागमनसँगै अन्नपूर्ण क्षेत्रको पर्यटन गतिविधिसमेत प्रभावित बनेको छ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा ल्याउने विषयमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गरेका थिए। भेटपछि अवरुद्ध सडकमा तत्काल अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी अघि बढाइएको अध्यक्ष केसीले जानकारी दिए।

‘पहिले यातायात सुचारु, त्यसपछि दीर्घकालीन पुनर्निर्माण’लाई प्राथमिकतामा राखेर काम अघि बढाइने अध्यक्ष केसीको भनाइ छ। तत्कालका लागि अस्थायी संरचना निर्माण गरी आवागमन सहज बनाउने र दीर्घकालमा बाढी तथा पहिरोको जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित र दिगो संरचना निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले विपद्का कारण सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन, आवागमन तथा पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्न विभिन्न निकायबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए।

उनीहरूले विपद्को समयमा छिमेकी पालिका, प्रदेश सरकार, सुरक्षा निकाय, संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोगले प्रभावित नागरिकलाई तत्काल राहत पुग्नुका साथै पुनर्निर्माणको अभियानलाई समेत बलियो बनाएको उल्लेख गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected