२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

भूमिपूजासँगै घान्द्रुक सडक पुनर्निर्माणमा जुट्यो सिंगो समाज

अन्नपूर्ण, कास्की । बाढी–पहिरोले क्षतिग्रस्त नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माणको काम भूमिपूजासँगै अघि बढेको छ। विपद्ले सडक मात्रै भत्काएन, स्थानीय बस्ती, पर्यटन र जनजीवनमा समेत गहिरो असर पारेपछि यसको पुनर्निर्माणमा स्थानीय सरकारदेखि प्रदेश सरकार, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक समाज एकै ठाउँमा उभिएका छन्।

अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिपछि वीरेठाँटी बस्ती संरक्षण र सडक पुनः सञ्चालनलाई प्राथमिकतामा राखिएको हो। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार भूमिपूजा गरी ग्याबियन जाली भर्ने तथा सडक संरक्षणको काम शुभारम्भ गरेका हुन्।

यहाँ भूमिपूजा केवल धार्मिक कर्मकाण्डमा सीमित छैन। प्रकृतिको विनाशकारी शक्तिले क्षति पुर्‍याएको भूमिमा पुनः निर्माणको सुरुवात गर्दा भूमि, प्रकृति र स्थानीय संस्कृतिप्रति सम्मान प्रकट गर्ने परम्पराका रूपमा यसको विशेष अर्थ छ। निर्माण कार्य सुरक्षित, सफल र दीगो बनोस् भन्ने सामूहिक विश्वासका साथ भूमिपूजा गरिएको अध्यक्ष केसीले बताए। “विपद्मा एकता, सहयोगमा साथ” भन्ने भावना पुनर्निर्माणमा व्यवहारमै देखिएको बताउँदै अध्यक्ष केसीले तत्काल सडक सञ्चालनसँगै भविष्यमा बाढीपहिरोको जोखिम थेग्न सक्ने सुरक्षित र मजबुत संरचना निर्माण गर्नुपर्नेमा जोड दिए।

भूमिपूजासँगै वीरेठाँटी क्षेत्रमा मोदीखोलाको कटानबाट बस्ती जोगाउन खोलाको बहाव डाइभर्सन गर्ने काम सम्पन्न भएको छ भने ग्याबियन जाली भर्ने कार्य सुरु गरिएको छ। सडक बगेका तथा जोखिममा रहेका स्थानमा ग्याबियन संरचना निर्माण गरी तत्काल यातायात सञ्चालनमा ल्याउने र थप क्षति रोक्ने लक्ष्य राखिएको छ।

पुनर्निर्माणका लागि तमु धिं नेपालले तीन लाख तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले २० लाख रुपैयाँ सहयोग गरेका छन्। गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले प्रारम्भिक चरणका लागि आवश्यक ग्याबियन जाली उपलब्ध गराएको छ। माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकाले जनही पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, नेपाली सेनाले ग्याबियन भर्ने कार्यका लागि १०० जना स्वयंसेवक परिचालन गरेको छ भने उपल्लो मोदीखोला जलविद्युत् कम्पनीले एक्साभेटर उपलब्ध गराएको छ। गाउँपालिकाका इन्जिनियर शैलेन्द्र क्षेत्रीका अनुसार प्राविधिक तथा प्रशासनिक टोली फिल्डमै खटिएर पुनर्निर्माणलाई गति दिइरहेको छ।

घान्द्रुकको पर्यटन, व्यापार–व्यवसाय र दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको सडक छिटो सञ्चालनमा आउँदा प्रभावित क्षेत्रले ठूलो राहत पाउने गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले बताइन्। उनका अनुसार यो पुनर्निर्माण सडक जोड्ने काम मात्र नभई घान्द्रुकको अर्थतन्त्र, पर्यटन र जनजीवनलाई पुनः गतिशील बनाउने अभियान पनि हो।

विपद्ले भौतिक संरचना भत्काए पनि त्यसले स्थानीय तह, प्रदेश सरकार, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक समाजलाई एउटै उद्देश्यमा जोडेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए। बरालले भूमिपूजाबाट सुरु भएको यो पुनर्निर्माण एउटा सडक बनाउने अभियान मात्र होइन—विपद्पछिको पुनर्जागरण, प्रकृतिप्रतिको सम्मान र सामूहिक सहकार्यको प्रतीक रहेको बताए।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…