0Shares

पोखरा — पोखरा उद्योग वाणिज्य संघको ३६औँ अधिवेशन तथा ७२औँ साधारण सभा भदौ २० र २१ गते हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा संघको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले व्यवसायीका साझा समस्या समाधान, निजी क्षेत्रको नेतृत्वदायी भूमिका र पोखराको आर्थिक विकासलाई केन्द्रमा राख्दै आफ्नो उम्मेदवारीको अपिल सार्वजनिक गरेका छन्।

पोखरेलले सार्वजनिक गरेको अपिलमा आफू लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएको र व्यवसायीका चुनौतीलाई नजिकबाट अनुभूति गरेको उल्लेख गरेका छन्। उनले व्यवसायीले भोग्दै आएका समस्या आफ्ना लागि केवल व्यावसायिक मुद्दा नभई व्यक्तिगत जीवनकै अनुभवसमेत भएको बताएका छन्।

विगतका दुई निर्वाचनमा परिणाम फरक आए पनि आफू व्यवसायीका साझा मुद्दाबाट कहिल्यै टाढा नभएको उल्लेख गर्दै पोखरेलले “निष्ठाको यात्रामा कहिल्यै पूर्णविराम हुँदैन” भन्ने धारणा अघि सारेका छन्। व्यवसायीको हितको रक्षा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउँदै उनले विगतका अनुभवबाट थप खारिएको र दृढ भएर पुनः अध्यक्ष पदका लागि अघि बढेको बताएका छन्।

पोखराको निजी क्षेत्रलाई थप प्रभावशाली बनाउने एजेन्डा

पोखरेलले आफ्नो उम्मेदवारीसँगै ‘म किन चुनाव लड्दैछु?’ भन्ने शीर्षकमा पाँच प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन्।

उनको पहिलो प्राथमिकता पोखरा उद्योग वाणिज्य संघको अवधारणाअनुसार संस्थालाई थप विस्तार गर्दै विश्वव्यापी बजारमा पोखराका उद्योग–व्यवसायको प्रवर्द्धन र निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नु रहेको छ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन राज्यका सम्बन्धित निकायसँग निरन्तर व्यावसायिक संवाद र दबाब कायम गर्ने योजना उनले अघि सारेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार गर्न व्यावसायिक दूत परिचालन तथा द्विपक्षीय अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने उनको प्रस्ताव छ।

‘संघ सबै व्यवसायीको साझा घर बन्नुपर्छ’

पोखरेलले संघलाई साना, मझौला र ठूला सबै तहका उद्योगी–व्यवसायीको साझा घर बनाउने प्रतिबद्धता जनाएका छन्। सबै व्यवसायीको आवाज समान रूपमा सुनिने प्रणाली विकास गर्ने तथा साना र घरेलु उद्योगलाई वित्तीय पहुँच र बजार सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।

व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत अड्चन हटाउन सशक्त पैरवी गर्ने पनि उनले बताएका छन्। निजी क्षेत्रमाथि भइरहेका समस्यालाई संवादमार्फत समाधान गर्ने वातावरण निर्माणमा संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ।

युवालाई पोखरामै रोक्ने र उद्यमशीलतामा जोड्ने योजना

पोखरेलको अर्को महत्वपूर्ण एजेन्डा युवा जनशक्तिको विदेश पलायन रोक्दै पोखरामै उद्यमशीलताको वातावरण निर्माण गर्नु हो। दिनानुदिन विदेश पलायन भइरहेको ऊर्जावान युवा जनशक्तिलाई पोखरामै रोक्न र उद्यमशीलतामा आकर्षित गर्न विशेष पहल गर्ने उनले बताएका छन्।

यसका लागि संघको नेतृत्वमा सीप, उद्यम र बजारबीचको तादात्म्यता मिलाउने दिगो मोडेल विकास गर्ने उनको प्रस्ताव छ।

पोखरेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि व्यवसायीको साझा हित र संस्थागत सुधारसँग जोडेर प्रस्तुत गरेका छन्। विगतका अनुभवले आफूलाई अझ दृढ बनाएको भन्दै उनले यसपटक व्यवसायीको विश्वास र समर्थन पाउने अपेक्षा व्यक्त गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि हुने ३६औँ अधिवेशनले अब संघको आगामी दिशा र निजी क्षेत्रको आवाजलाई कुन ढंगले अघि बढाउँछ भन्ने विषयमा व्यवसायीको ध्यान केन्द्रित भएको छ। अर्जुन पोखरेलका एजेन्डाले संघलाई थप समावेशी, प्रभावकारी र व्यवसायीमैत्री बनाउने दाबी गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected