
पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न क्लबको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षका लागि गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ (रोजी) र सहसचिवमा बालकुमारी पौडेल (तारा) चयन भएका छन्। सदस्यमा संजय थापा र बसन्त गिरी चयन भएका छन्।
यसअघि साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले गरेका थिए। उद्घाटन सत्रमा क्लबका सचिव गौरव त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले प्रस्तुत गरेका प्रतिवेदन बन्द सत्रमा व्यापक छलफलपछि पारित गरिएको थियो।
क्लबले साउन २५ गते बसेको बैठकबाट भदौ १३ गते अधिवेशन गर्ने मिति तय गरेको थियो। तर भदौ १० गते रसुवामा आएको बाढीका कारण देशले विपत्तिको सामना गरिरहेका बेला तामझामसहित कार्यक्रम गर्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै अधिवेशन तथा साधारणसभा सामान्य रूपमा सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष गिरीले बताए।

‘देश शोकमा रहेका बेला तामझामसहित कार्यक्रम गर्न उचित ठानेनौँ। त्यसैले सामान्य रूपमा अधिवेशन र साधारणसभा सम्पन्न गरेका छौँ,’ उनले भने।
अध्यक्ष गिरीले आगामी दिनमा क्लबलाई उद्देश्यअनुरूप थप सक्रिय बनाउँदै रचनात्मक तथा पत्रकारितामैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०७९ सालमा स्थापना भएको प्रेस क्लब गण्डकीले हरेक वर्ष ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। क्लबले २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणि बराललाई प्रदान गरेको थियो।
अध्यक्ष गिरीका अनुसार २०८२ र २०८३ सालका पुरस्कार यसै वर्ष प्रदान गरिनेछ। पुरस्कारका लागि हालसम्म कुनै दाता नभएको बताउँदै उनले क्लबले विभिन्न कार्यक्रम सञ्चालन गरेर खर्च कटाई रकम बचत गरी पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए।
‘गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौँ। अब दुई वर्षको पुरस्कार यस वर्ष वितरण गर्नेछौँ,’ उनले भने।
नवनिर्वाचित सचिव प्रकाशचन्द्र अधिकारीले प्रेस क्लब गण्डकीलाई सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने बताए। उनले पत्रकारिताको विकास, पत्रकारको पेशागत हित तथा पत्रकारिता क्षेत्रका समसामयिक सवालमा क्लबले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।










