नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकीको नेतृत्वमा हरिराज पन्त

११ जिल्लाको संगठनलाई चलायमान बनाउने जिम्मेवारी, उद्योगी–व्यवसायीको साझा आवाज बलियो बनाउने लक्ष्य
पोखरा । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (एनडिसीसीआई) को गण्डकी प्रदेश तदर्थ कार्यसमितिको अध्यक्षमा उद्योगी–व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय हरिराज पन्त मनोनयन भएका छन्।
संघको केन्द्रीय तदर्थ समितिले पन्तलाई गण्डकी प्रदेशको संगठन विस्तार, समन्वय र सुदृढीकरणको महत्वपूर्ण जिम्मेवारी दिएको हो। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको संघले प्रजातन्त्रप्रति आस्थावान् उद्योगी तथा व्यवसायीलाई संगठित गर्दै आफ्नो संरचना प्रदेश र जिल्ला तहसम्म विस्तार गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ।
केन्द्रीय तदर्थ समिति गठन भइसकेपछि संघले अब प्रदेश तथा जिल्ला तहका संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने रणनीति अघि सारेको छ। यही क्रममा गण्डकी प्रदेशको नेतृत्व पन्तलाई सुम्पिएको हो।
पन्तको मुख्य जिम्मेवारी गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका संघका अध्यक्ष तथा नेतृत्वसँग समन्वय गर्दै संगठनलाई संस्थागत, गतिशील र प्रभावकारी बनाउनु हुनेछ। उद्योगी तथा व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउने, व्यवसायिक हकहितका विषयमा आवाज उठाउने र प्रजातान्त्रिक मूल्य–मान्यतामा आधारित व्यवसायिक एकता निर्माण गर्ने अपेक्षा उनीमाथि गरिएको छ।
संघका केन्द्रीय अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सोमबार पन्तलाई मनोनयन पत्र हस्तान्तरण गर्दै कार्यकालको सफलताको शुभकामना दिएका छन्। मनोनयन पत्रमा भनिएको छ, ‘तपाईंलाई नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तदर्थ कार्यसमितिको अध्यक्ष पदमा मनोनयन गरिएको छ।’
कर्माचार्यका अनुसार प्रजातन्त्रप्रति आस्थावान् उद्योगी तथा व्यवसायीलाई एउटै साझा संस्थागत संरचनामा आबद्ध गर्दै उनीहरूका हकहित र व्यावसायिक सरोकारका विषयमा प्रभावकारी रूपमा काम गर्ने जिम्मेवारी प्रदेश नेतृत्वमा आएको छ।
गण्डकी प्रदेशका सबै ११ जिल्लामा संघको संरचना तयार भइसकेकाले अब त्यसलाई सक्रिय र परिणाममुखी बनाउने चुनौती नयाँ नेतृत्वसामु छ। प्रदेश नेतृत्वले जिल्लास्तरीय संगठनसँग नियमित समन्वय गर्दै उद्योगी–व्यवसायीका समस्या, अवसर र नीतिगत विषयलाई प्रदेश तथा केन्द्रसम्म जोड्ने अपेक्षा गरिएको छ।
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेको छ। त्यसैले गण्डकी प्रदेशमा संगठन विस्तारलाई केवल व्यवसायिक गतिविधिको रूपमा मात्र नभई लोकतान्त्रिक मूल्य, निजी क्षेत्रको भूमिका र उद्यमशीलताको पक्षमा राजनीतिक तथा नीतिगत आवाज बलियो बनाउने प्रयासका रूपमा समेत हेरिएको छ।
संघले उद्योगी तथा व्यवसायीको हकहितसँगै निजी क्षेत्रमैत्री नीति, लगानीको वातावरण, उद्यमशीलता प्रवर्द्धन र व्यवसायिक सुरक्षाका विषयमा सम्बन्धित सरकार तथा राजनीतिक नेतृत्वसँग संवाद र सहकार्य गर्ने लक्ष्य राखेको छ।
पन्तको नेतृत्वमा प्रदेश संरचना थप सक्रिय भए गण्डकीका उद्योगी–व्यवसायीका स्थानीय समस्या प्रदेशस्तरमा उठान हुने र प्रदेशका आर्थिक तथा व्यवसायिक मुद्दालाई राष्ट्रिय बहससम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेशमा उद्योग, पर्यटन, कृषि, सेवा तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। पोखरा लगायतका प्रमुख व्यवसायिक केन्द्रदेखि ग्रामीण तथा जिल्ला तहसम्मका व्यवसायीका समस्या र आवश्यकता फरक–फरक छन्।
यस्तो अवस्थामा प्रदेश नेतृत्वले जिल्लागत समस्यालाई एउटै साझा एजेन्डामा जोड्दै व्यवसायिक एकता, संगठनात्मक अनुशासन र नीतिगत पैरवीलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
संघले नयाँ नेतृत्वले तत्कालै संगठनलाई चलायमान बनाउँदै उद्योगी तथा व्यवसायीका सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।
पन्तलाई दिइएको मनोनयनको बोधार्थ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापतिलाई समेत पठाइएको छ। यसले संघको प्रदेशस्तरीय संगठन विस्तार र कांग्रेससँगको संस्थागत समन्वयलाई थप औपचारिकता दिएको देखिन्छ।
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीको हकहितका लागि काम गर्दै आएको बताउँदै आएको छ। संगठनलाई थप सुदृढ बनाउँदै व्यावसायिक एकता कायम गर्ने उद्देश्यसहित प्रदेश नेतृत्वले आगामी दिनमा जिल्ला तहसम्मका संरचनालाई सक्रिय बनाउने तयारी गरेको छ।
पन्तको नेतृत्वसँगै अब गण्डकीमा संघले ११ जिल्लाको संगठनलाई एउटै छातामुनि थप प्रभावकारी बनाउँदै उद्योगी–व्यवसायीका आर्थिक, नीतिगत र व्यावसायिक मुद्दालाई संगठित रूपमा उठाउन सक्ने कि नसक्ने भन्ने विषय महत्वपूर्ण रहनेछ।










