
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ अधिवेशन नजिकिँदै गर्दा सदस्य पदका उम्मेदवारहरूले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न अभियान तीव्र बनाएका छन्। यही क्रममा व्यवसायी दिलीप श्रेष्ठ पनि सदस्य पदका प्रत्यासीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
व्यवसायसँगै विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका श्रेष्ठले आफूले हासिल गरेको संस्थागत अनुभवलाई पोखरा उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
श्रेष्ठ हाल अधिकृत बिक्रेता संघ पोखराका वरिष्ठ उपाध्यक्ष हुन्। त्यस्तै, उनी नेपाल वितरक महासंघ केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा पनि कार्यरत छन्। यसले व्यवसायीका समस्या, वितरण प्रणाली, बजार व्यवस्थापन तथा निजी क्षेत्रका विभिन्न विषयमा उनको प्रत्यक्ष अनुभव रहेको देखाउँछ।
पोखरा उद्योग वाणिज्य संघसँग पनि श्रेष्ठको पुरानो सम्बन्ध छ। उनी संघको पूर्व कार्यसमिति सदस्यसमेत रहिसकेका छन्। संघको कार्यसमितिमा रहेर काम गरिसकेको अनुभवलाई उनले यसपटकको उम्मेदवारीको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।
व्यावसायिक क्षेत्रसँगै श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीका पूर्व अध्यक्ष हुन्। त्यस्तै, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५आईका डिष्ट्रिक्ट काउन्सिलरका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन्।
यसका अतिरिक्त श्रेष्ठ पोखरा प्लास्टिक व्यवसायी समिति कास्कीका सदस्यसमेत हुन्। विभिन्न क्षेत्रका व्यवसायी तथा सामाजिक संस्थासँगको निरन्तर सहकार्यले आफूलाई व्यवसायीका विविध समस्या बुझ्न सहयोग पुगेको श्रेष्ठको भनाइ छ।
व्यवसाय सञ्चालनको क्षेत्रमा पनि श्रेष्ठको लामो अनुभव छ। उनी अदिति ट्रेड सेन्टर, फोर ए डी ट्रेडिङ हाउस र फोर डी ट्रेडिङ हाउसका सञ्चालक हुन्। व्यापार तथा व्यवसायमा प्रत्यक्ष संलग्न रहेका कारण आफूले व्यवसायीले दैनिक रूपमा भोग्नुपर्ने समस्या नजिकबाट बुझेको उनी बताउँछन्।
पोखरा उद्योग वाणिज्य संघको सदस्यका रूपमा निर्वाचित भएमा व्यवसायीका साझा समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्ने श्रेष्ठको प्रतिबद्धता छ। विशेषगरी व्यवसायीको हकहित, संस्थागत सुदृढीकरण, व्यवसायमैत्री वातावरण निर्माण र निजी क्षेत्रका आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
‘व्यवसायीको समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सक्ने प्रतिनिधित्व आवश्यक छ,’ श्रेष्ठको जोड छ।
विभिन्न व्यावसायिक, सामाजिक तथा संस्थागत जिम्मेवारी सम्हालेको अनुभवलाई आधार बनाउँदै श्रेष्ठले यसपटक पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा पुगेर व्यवसायीको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने लक्ष्य अघि सारेका छन्।







