पोउबासंघ अध्यक्षमा बुद्धाचार्यको ‘नयाँ चाल’ : प्यानल बनाएनन्, जितेपछि टिम बनाउने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा रहेका उत्तममान बुद्धाचार्यले यसपटक प्यानल बनाएर चुनाव लड्ने परम्परागत शैलीभन्दा फरक रणनीति अपनाएका छन्। ‘पहिले चुनाव जितौँ, त्यसपछि सबैलाई समेटेर बलियो टिम बनाऔँ’ भन्ने उनको रणनीति छ।
संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षका चारै उम्मेदवारले मतदाता र व्यवसायिक संघसंस्थासँगको भेटघाट तीव्र बनाइरहेका बेला वरिष्ठ उपाध्यक्षसमेत रहेका बुद्धाचार्यले आफ्नो उम्मेदवारीका आधार र आगामी योजनालाई सार्वजनिक गरेका हुन्।
आइतबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका बुद्धाचार्यले आफूलाई कुनै समूह वा प्यानलको उम्मेदवारभन्दा संस्थागत अनुभव र निरन्तरताको उम्मेदवारका रूपमा प्रस्तुत गरे।
‘जितेर आएका साथीहरूसँग मिलेर काम गर्ने हो। जो–जो साथीहरू आउनुहुन्छ, उहाँहरूलाई सँगै लिएर टिम बनाएर काम अगाडि बढाउने हो,’ उनले भने।
उनका अनुसार चुनावअघि प्यानल बनाएर समूहगत प्रतिस्पर्धा गर्नुभन्दा निर्वाचनपछि निर्वाचित सबैलाई समेटेर प्रभावकारी टिम निर्माण गर्नु उपयुक्त हुन्छ।

चार दशकको अनुभवलाई बनाए मुख्य चुनावी हतियार
बुद्धाचार्यले आफ्नो उम्मेदवारीको सबैभन्दा ठूलो आधारका रूपमा चार दशकभन्दा लामो व्यवसायिक अनुभवलाई अघि सारेका छन्।
२०४१ सालदेखि व्यवसायमा सक्रिय रहेको बताउँदै उनले व्यवसायीले भोग्ने समस्या, बजारको अवस्था र सरकारी निकायसँगको समन्वयबारे आफूले लामो अनुभव हासिल गरेको बताए।
उनी एलिगेन्स ट्रेड सेन्टर, फोर नाइन ज्वेलरीज, पोखरा एफएम, सिल्भर फोर नाइनलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानसँग जोडिएका छन्।
अब व्यवसायको जिम्मेवारी छोराहरूलाई हस्तान्तरण गर्दै संघको काममा पर्याप्त समय दिने तयारीमा रहेको उनले बताए।
‘लामो समय व्यापार व्यवसायमा रहँदा व्यवसायीले भोगेका समस्या नजिकबाट बुझेको छु,’ उनले भने, ‘अग्रजको सुझाव, संस्थागत अनुभव र मेरो व्यावसायिक अनुभवलाई जोडेर व्यवसायीका समस्या समाधानका लागि काम गर्नेछु।’
‘अध्यक्ष बनेपछि व्यक्ति होइन, विधान हाबी हुन्छ’
बुद्धाचार्यले अध्यक्ष निर्वाचित भए संघलाई व्यक्ति केन्द्रित नभई विधान र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
वरिष्ठ उपाध्यक्षका रूपमा दुई वर्ष काम गरिसकेको अनुभव सुनाउँदै उनले विगतमा विधान र संस्थागत प्रक्रियाअनुसार काम हुन नसक्दा समस्या तथा मतभेद उत्पन्न भएको बताए।
‘व्यक्ति केन्द्रित भएर संस्था चलाउने होइन, विधानअनुसार संस्था चलाउने हो,’ उनले स्पष्ट पारे, ‘मैले चुनाव जितेपछि पनि संघलाई विधानअनुसार नै अघि बढाउनेछु।’
एआईदेखि ‘लोकल टु ग्लोबल’सम्म
बुद्धाचार्यले सार्वजनिक गरेको १७ बुँदे प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्यादेखि प्रविधि र एआईसम्मका विषय समेटिएका छन्।
व्यवसायीका लागि एकद्वार सहायता केन्द्र, विशेषज्ञ सहायता टिम, व्यवसायिक डेटा बैंक, डिजिटल प्रविधि तथा एआईको प्रयोग गर्ने योजना उनले अघि सारेका छन्।
युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
त्यस्तै पोखरामा उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ‘लोकल टु ग्लोबल’ अभियान र पोखरामै उत्पादित वस्तु तथा सेवा खरिद बढाउन ‘बाइ पोखरा’ अभियान सञ्चालन गर्ने उनको योजना छ।
व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्री प्रवर्द्धनका लागि ‘मिड इयर सेल’, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ‘ग्रेटर पोखरा’ अवधारणालाई समेत उनले एजेन्डामा समेटेका छन्।
‘रोलक्रम पनि मेरो दाबीको आधार’
बुद्धाचार्यले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा संघभित्रको संस्थागत रोलक्रमसँग जोडेर प्रस्तुत गरेका छन्।
संघको कार्यसमिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी स्वाभाविक भएको बताए।
‘मैले पोउबासंघको कार्यसमिति सदस्य, वाणिज्य उपाध्यक्ष र यसपटक वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको छु। त्यसैले आसन्न महाधिवेशनमा अध्यक्षमा मेरो उम्मेदवारी स्वाभाविक उम्मेदवारी हो,’ उनले भने।
यसरी बुद्धाचार्यले चुनावी मैदानमा रोलक्रम, चार दशकको व्यवसायिक अनुभव र १७ बुँदे प्रतिबद्धतालाई आफ्नो मुख्य आधार बनाएका छन्।
समर्थन आफ्नो पक्षमा रहेको दाबी
पत्रकार भेटघाटमा फ्लोरिङ फर्निसिङ एसोसिएसन पोखराका अध्यक्ष थानेश्वर तिवारी, नेपाल अटोमेकानिकल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली, सुनचाँदी व्यवसायी संघ कास्कीका उपाध्यक्ष तारा गौतम तथा लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्वअध्यक्ष विश्वमोहन अधिकारीलगायत सहभागी थिए।











