
तनहुँ, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।
बुधवार तनहुँ क्षेत्र नम्बर १ को डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे ।
त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताए पछि दाहालले पनि त्यसमा आफू सकारात्मक रहेको बताए।
भट्टराईलाई रूख चिन्हमा मतदान गर्न अपिल गर्दै प्रधानमन्त्री दाहालले यहाँका जनताले उचित फैसला गरे त्यसको व्यवस्थापन गर्ने जिम्मा केन्द्रमा आफुले लिने बताए । गोविन्द भट्टराई संघर्ष र त्यागको प्रतिक भएको बताउदै तनहुँको हितका लागि भट्टराईलाई जिताउन अनुरोध गरे । ‘भट्टराई इमान्दर र योग्य उम्मेरवार हुनुहुन्छ उहाँलाई जिताउने अवसर गुम्न नदिनुहोला’ उनले भने । म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो त्यसैले तपाईहरुले रामचन्द्रजीलाई जस्तै अत्याधिक मतले गठबन्धनका साझा उम्मेरवारलाई विजयी गराउनुस बाँकी काम मेरो भयो’ उनले भने । ‘मैले यसअघि त्यही ठाउँमा उभिएर रामचन्द्रजीका लागि मत माग्दै प्रधानमन्त्री बनाउछु भनेको थिए, उहाँलाई त्यो भन्दा पनि सर्वोच्च पदमा पुर्र्याएर आफ्नो प्रतिवद्धता पुरा गरेको छु, अब गोविन्दजीलाई पनि मन्त्री बनाउने जिम्मा म लिन्छु’ । साथै, चुनावपछी पनि गठबन्धनको सरकार निरन्तर रहने बताउदै ‘देशमा सुशासन, समृद्धि र बिकासको नयाँ यात्रा सुरु गरिएको छ र त्यसलाई पूर्णता दिने हो’ उनले भने ।
प्रधानमन्त्री दाहालले मुग्लिन पोखरा सडकको काम तीव्र रुपमा गर्न निर्देशन दिने बताए । साथै २०७५ सालअघि निर्माण भएका सबै कच्ची सडक पक्की बनाउन आगामी बजेटमा अधिकतम सम्बोधन गर्ने बताए ।बन्दीपुरमा लिफ्टिङ खानेपानी योजना सम्पन्न गर्ने, तनहुँ र चितवन जोडन तनहुँको घुमाउने घाटमा निर्माणाधीन पुलको काम एक वर्ष भित्र सम्पन्न गर्ने, भानु जन्मस्थललाई नेपाली साहित्य तथा साधना केन्द्रको रुपमा बिकासगर्ने काम अगाडि बढाइने, भानुभक्त प्राणी उद्यानको काम अगाडि बढाउने , देबघाटमा संस्कृत विश्व विद्यालय बनाउने बारे अध्ययन गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोबिन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई आग्रह गरे ।‘सरकार हाम्रै बन्ने हो, काम गर्ने हामीले नै हो, हामीलाई जिताउनुस्,’ उनले भने, ‘अरुले भनेर केही हुँदैन ।अरुले जितेर केही हुँदैन । अहिले पनि गठबन्धनबाट हाम्रै प्रधानमन्त्री छन् । अब फेरि पनि हाम्रै हुने हो ।हामीलाई भोट दिनुस् ।’
त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिलाई सहीदिशा दिने जिम्मेवारी आफूहरुको भएको बताए । ‘राष्ट्रिय राजनीतिलाई सही दिशामा लाने जिम्मा हाम्रो भयो, यसका लागि निर्वाचनमा तपाइँले सही निर्णय लिई गठबन्धनका साझा उम्मेद्वार गोविन्द भट्टराई जिताउन अनुरोध गरे ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोविन्द भट्टराई नै सबैभन्दा योग्य उम्मेदवार भएकोले जिताएर पठाउन आग्रह गरे ।
त्यस क्षेत्रमा नेकपा एमालेले पूर्वआइजीपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाईउम्मेदवार बनाएको छ।











