रास्वपा–बालेनबीच ‘बृहत् एकता’मा ऐतिहासिक सहमति:सभापति रवि नै रहने,प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान ‘बृहत् एकता’मा ऐतिहासिक सहमति भएको छ । सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि गठन हुने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन—विशेष गरी भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ लगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख गरिएको छ ।
सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम, फराकिलो र प्रभावकारी बनाइनेछ । योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई उपयुक्त जिम्मेवारी दिइने पनि सहमतिमा उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ ।
रास्वपा र बालेन्द्र शाहबीच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद हुँदै आएको थियो । विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल भएको थियो । पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्शपछि अन्ततः सहमति जुटेको हो ।
सहमतिमा हस्ताक्षर गरेपछिको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै रवि लामिछानेले लेखेका छन्— ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’
त्यसैगरी बालेन्द्र शाहले सोही तस्बिर शेयर गर्दै घण्टीका दुई वटा इमोजी राखी ‘शुभ प्रभात’ लेखेका छन् । सहमतिपत्रमा रास्वपा ‘घण्टी’ चुनाव चिह्नबाट नै आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट उल्लेख छ ।
सहमतिको पूर्णपाठ 
१. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहनेछन् ।
२. आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ ।
३. सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्ने साझा प्रतिबद्धता व्यक्त गरिन्छ ।
४. भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध भएका जनआन्दोलन, विशेषतः भदौ २३ र २४ का युवा/जेनजी आन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाइनेछ ।
५. बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम, समावेशी र फराकिलो बनाइनेछ ।
६. योग्य, प्रतिबद्ध, सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइनेछ ।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गरिनेछ ।
८. आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ चुनाव चिह्नबाट सहभागी हुनेछ ।






सम्बन्धित खवर
















