मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्।
विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा तथा भाइ शिवराजले अध्ययन गरेको विद्यालयप्रति सम्मान व्यक्त गर्दै उक्त अक्षयकोष स्थापना गरिएको मेयर आचार्यले बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण विन्ध्यवासिनी माविले प्रस्तुत गरेको उल्लेख गरे। उनले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिका तयार रहेको स्पष्ट पारे।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको समन्वयले मात्र शैक्षिक सफलता सम्भव हुने बताए।
कार्यक्रममा विद्यालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यक्ष अवार्ड प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समितिको समन्वयमा अध्यक्षले चयन गर्ने उक्त अवार्ड मेयर धनराज आचार्य, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख भाष्कर दत्त पन्त, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पुष्पेन्द्र पाण्डे, शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले अवार्ड र सम्मानपत्रसहित प्रदान गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले अवार्डको घोषणा गरेका थिए।
सम्मानपछि प्रतिक्रिया दिँदै प्रधानाध्यापक आचार्यले यो सम्मान व्यक्तिगत नभई विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहोरात्र खटिने सम्पूर्ण शिक्षक–कर्मचारीप्रतिको सम्मान भएको बताए। उनले सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको उल्लेख गरे।
आचार्य २०५२ सालमा जनचेतन मावि निर्मल पोखरीमा स्थायी नियुक्त भई २०६० सालमा विन्ध्यवासिनी माविमा सरुवा भई आएका हुन्। विगत एक दशकदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका उनले यसअघि शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, सहायक प्रधानाध्यापक लगायतका जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। २०७३ सालदेखि निरन्तर प्रधानाध्यापकको भूमिकामा रहेका आचार्यले २०८० मा राष्ट्रिय शिक्षा पुरस्कार र २०८१ मा प्रदेश शिक्षा पुरस्कार प्राप्त गरेका छन्।
उनकै कार्यकालमा विद्यालय २०७९ मा नेपाल सरकार गुणस्तर मापन केन्द्र, सानोठिमीको सर्वेक्षणमा देशभरका सामुदायिक विद्यालयमध्ये प्रथम, २०८० मा गण्डकी प्रदेश प्रथम तथा विभिन्न राष्ट्रिय तथा प्रादेशिक सम्मान प्राप्त गर्न सफल भएको छ। पछिल्लो तीन वर्षमा देशभरका ८ सय ७५ भन्दा बढी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा जनप्रतिनिधिले विद्यालयको असल अभ्यास अवलोकन गरिसकेका छन्।
कार्यक्रममा उत्कृष्ट शिक्षक, दीर्घ सेवा गरेका शिक्षक–कर्मचारी, उत्कृष्ट अभिभावक, मनिटर, विद्यार्थी तथा विभिन्न अक्षयकोषबाट छात्रवृत्ति प्राप्त विद्यार्थीलाई सम्मान गरिएको छ। एसइई २०८१ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई ५० हजार र कक्षा ८ मा ४ जिपिए ल्याउने अनुज आचार्यलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
त्यसैगरी विद्यालयले पुस्तकालयमा किताब उपहार दिने अभियान सुरु गरेकी विद्यार्थी कृतिका अधिकारीलाई पनि सम्मान गरेको छ। हालसम्म उक्त अभियानमार्फत ९५ थान पुस्तक संकलन भएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, वडाध्यक्षहरू, अभिभावक तथा सरोकारवालाहरूले शुभकामना मन्तव्य राखेका थिए।
उद्घाटनअघि मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्यार्पण गरेका थिए। वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले पञ्चेबाजा, मार्चपास, विज्ञान प्रदर्शनी, लोकनृत्य, भजन तथा नाटक प्रस्तुत गरेका थिए। साथै रक्तदान, सरसफाइ र खेलकुद कार्यक्रमसमेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ।






सम्बन्धित खवर














