
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै ओखलढुङ्गाका नेकपा (एमाले) नेताहरूले पार्टी केन्द्रले आफूहरूलाई ‘भीम रावल’ बनाउन खोजेको आरोप लगाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेका नामहरू हटाएर केन्द्रले आकांक्षी नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै जिल्ला नेतृत्वले आधिकारिक उम्मेदवारलाई नसघाउने र मनोनयन दर्तामै सहभागी नहुने घोषणा गरेको छ ।
काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का ‘जीबी’, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवालसहित जिल्ला कमिटीका सदस्यहरूले केन्द्रको निर्णयप्रति कडा आपत्ति जनाए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले जिल्ला कमिटीले लोकतान्त्रिक र विधिसम्मत प्रक्रिया अपनाएर उम्मेदवार सिफारिस गरेको दाबी गरे । ‘जिल्ला कमिटीको विस्तारित बैठकमा व्यापक छलफल भयो । म पनि उठ्न चाहन्छु भन्ने १८ जना साथीहरू हुनुहुन्थ्यो,’ खड्काले भने, ‘त्यसमध्ये ९५ प्रतिशत म्यान्डेट अम्बिरबाबु गुरुङको पक्षमा थियो । सहमतिको प्रयासस्वरूप हामीले पाँच जनाको नाम केन्द्रमा पठाएका थियौँ ।’
जिल्ला कमिटीले सिफारिस गरेका पाँच नाममा ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकी थिए । तर केन्द्रीय सचिवालयले सिफारिसबाहिरबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद चर्किएको हो ।
अध्यक्ष खड्काका अनुसार केन्द्रले उम्मेदवार तोकेकी अस्मिता थापा स्वयंले पनि आफू चुनाव लड्न तयार नभएको बताएकी थिइन् । ‘उहाँ त्यो विस्तारित बैठकमै उपस्थित हुनुहुन्थ्यो । उहाँले म उम्मेदवार होइन, मेरो उमेर पनि पुगेको छैन र म आकांक्षी पनि होइन भन्नुभएको थियो,’ खड्काले भने, ‘तर जिल्लामा नामै नआएको र स्वयंले नउठ्ने भनेको व्यक्तिलाई टिकट दिइनु एमालेका कार्यकर्ता र मतदाताको शिर निहुराउने काम हो ।’
जिल्ला नेताहरूले केन्द्रले ओखलढुङ्गालाई योजनाबद्ध रूपमा कमजोर बनाउन खोजेको आरोपसमेत लगाए । उपाध्यक्ष कमलप्रसाद न्यौपाने र सचिव अशोक थापाले यसलाई प्रतिशोधपूर्ण निर्णयको संज्ञा दिए । ‘गुट चलाउने केही अग्रज नेताहरूको कारण ओखलढुङ्गालाई माया मार्ने हिसाबले यस्तो निर्णय गरिएको हो,’ न्यौपानेले भने, ‘ईश्वर पोखरेल ओखलढुङ्गाकै भएकै कारण प्रतिशोध साधिएको हुन सक्छ । यसअघि भीम रावलसँग जे भयो, अहिले यहाँका पाँच नेतालाई पनि त्यही बनाउने प्रयास भएको छ ।’
जिल्ला सचिव अशोक थापाले केन्द्रको निर्णय नसच्चिए जिल्ला कमिटी मनोनयन दर्तामै सहभागी नहुने स्पष्ट पारे । ‘खराब नियतका साथ उम्मेदवार थोपरिएको छ । यही उम्मेदवार बोकेर एमाले ओखलढुङ्गा मनोनयन दर्ता गर्न जाँदैन,’ उनले भने ।
उपसचिव राजीव कटुवालसहित अन्य सदस्यहरूले पनि उम्मेदवार लादिएको भन्दै आक्रोश व्यक्त गरे । ‘हामीले सिफारिस गरेका पाँच जनामध्ये जसले टिकट पाए पनि हामी एकताबद्ध भएर चुनाव लड्थ्यौँ,’ थापाले भने, ‘तर अहिलेको निर्णयले कार्यकर्ताको ऊर्जा र उत्साह सकिएको छ । म्यान्डेट नपाएको उम्मेदवारलाई भोट हाल्ने मनोविज्ञान नै रहँदैन ।’
जिल्ला नेताहरूले पार्टीभित्रका गलत प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।












