16Shares

पोखरा भ्यूज टिम

पोखरा- प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई हपार्दै दुवैलाई मिलेर अघि बढ्न निर्देशन दिएका छन् ।
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा समेतका कार्यक्रमका लागि आइतबार पोखरा आएका प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले साँझ अबेरसम्म राष्ट्रबैंक गेष्टहाउसमा गण्डकी प्रदेशभरिका नेता तथा कार्यकर्तासँग भेटघाट गरी आवश्यक निर्देशन दिएका थिए ।

सोही क्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का र कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई एक साथ राखी झपारेको समाचार स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीद्वय खड्का र थापालाई झपार्दा गण्डकी प्रदेशकै शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र काँग्रेसका पुराना नेता खेमराज पौडेल साथै थिए । ‘तिमीहरू आपसमा किन नमिली एकअर्काको विरोधमा उत्रिएको,’ स्रोतले भन्यो–‘शुरूमै प्रधानमन्त्री देउवाले मन्त्री खड्कालाई प्रश्न गर्नुभयो ।’ त्यसपछि मन्त्री खड्काले आफूले मन्त्री थापाको कहीं कतै विरोध नगरेको र चुनावका बेलामा समेत मन्त्री थापालाई भोट माग्दै हिंडेको स्मरण गराउँदै प्रधानमन्त्री देउवासँगै रहेका मन्त्री थापातर्फ संकेत गर्दै भन्नुभयोे –‘चुनावका बेला बरु समानुपातिकतर्फ मत नदिए पनि प्रत्यक्षतर्फ बिन्दुजीलाई मत दिनु भन्दै चुनावी प्रचारमा सँगसँगै हिंडको होइन त विन्दुजी !’ त्यसपछि मन्त्री थापाले हो मा हो थप्नुभयो,’ स्रोतले भन्यो । मन्त्री थापा जसरी आफू थापालाई महाधिवेशन प्रतिनिधिमा हराउन नलागेको र मत नदिनू भन्दै पनि नहिंडेको भनी प्रधानमन्त्री देउवासमक्ष विश्वास दिएका थिए ।

उता मन्त्री खड्कासँग रहेका अर्का मन्त्री थापालाई पनि प्रधानमन्त्री देउवाले मन्त्री खड्का विरुद्ध किन लागेको भनेर प्रश्न गर्दै चुनावमा टिकट दिएकोमा गल्ती गरेको महशुस हुन नदिने गरी अघि बढ्न कडारूपमा निर्देशन दिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवासमेतको रोहवरमा दुवै मन्त्रीबीच मिलेर जाने सहमति भएको समाचार स्रोतले बताएको छ । प्रधानमन्त्रीले मन्त्रीद्वयलाई मिलेर अघि बढ्न निर्देशन दिएका वखत साक्षी रहेका काँग्रेसका पुराना नेता खेमराज पौडेलसँग यसबारे प्रतिक्रिया बुझ्दा प्रधानमन्त्रीसँग भेटघाट हुँदा भएका छलफलबारे सबै कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘पत्रकारसम्म पुगेका कुरा सत्य नै हुन्,’ नेता पौडेलले भने– ‘तर सबै कुरा हुबहु भन्न मिल्दैन ।’ उता प्रधानमन्त्री देउवासँगको भेटवार्ताबारे मन्त्रीद्वयको सचिवालयले अहिलेसम्म केही बताएको छैन ।

मन्त्रीद्वय पार्टीको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका आकांक्षी छन् । देउवा समूह (संस्थापन पक्ष) मा खुलेका यी दुवै मन्त्री पार्टी महाधिवेशन पदका लागि पहिलोपटक कास्की निर्वाचन क्षेत्र नं. २ बाट भिड्दै छन् । यद्यपि दुवैले एक अर्कालाई हराउन लागेको चर्चा केन्द्रसम्म पुगेको सन्दर्भमा देउवाको चासो केन्द्रित थियो । थापाले खड्कालाई महाधिवेशन प्रतिनिधिमा हराउन क्षेत्रीय प्रतिनिधिहरुलाई भोट नदिनू भन्दै हिंडेको सूचना मन्त्री खड्काले पाएको आफू निकटसँग बताउँदै आएका थिए । त्यसपछि मन्त्री खड्काले आफूविरुद्ध लागेको मन्त्री थापाका प्रत्येक गतिविधिमा उच्च निगरानी राख्दै गोप्य जासजूसी परिचालन गरेको चर्चा थियो ।

नेपाली काँग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठनपछि मन्त्रिमण्डल गठन प्रक्रियामा काँग्रेसको तर्फबाट मन्त्री चयन गर्ने विषयमा खड्का र थापाबीच असहमति हुँदा उनीहरुबीच दुरी बढेको होे । तिनताका मन्त्री पदको सपथ खान बोलाइएका सासंद दोबाटेको मन्त्री पद बीच बाटोमै खुस्किएको थियो । त्योबेला दोबाटेले पाएको भनिएको मन्त्रालय विन्दु थापाले पार्टी सभापति देउवाको निर्देशनमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना भएको थियो । मन्त्रीद्वयलाई प्रधानमन्त्री देउवाको मिल्न दबाबमूलक निर्देशन दिएको भोलिपल्टै अर्थात् सोमबार नै दोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त हुनुलाई पार्टी राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected