नेपाली काँग्रेस शान्ति उदय टोलको सभापतिमा गुरुङ
- October 16, 2021
- 7812

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले जोगीमणिमा लक्षु गुरुङको नेतृत्वमा शान्ति उदय टोल कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा विष्णु गुरुङ, सचिवमा सुनबहादुर तामाङ र कोषाध्यक्षमा पुष्पा गुरुङ चयन भएका छन् । त्यसैगरी कुमार गुरुङ, हरिबहादुर गुरुङ, रामकृष्ण परियार, गुठीमाया तामाङ, निमा तामाङ र कुमारी गुरुङ सदस्यमा चयन भएका छन् । पोखरा १६ मा काँग्रेसको टोल कार्यसमिति यो नै पहिलो हो । सहसचिव सहितका पाँच सदस्य पछि थप गरिने नेपाली काँग्रेसका पोखरा १६ का सभापति अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । नेपाली काँग्रेसको विधान २०१७ (नवौं संशोधन, २०७५) को परिच्छेद ३ को स्थानीय तहको संगठन अन्तर्गत दफा ५ ले टोल कार्यसमिति गठन गर्न सकिने व्यवस्था गरेको छ । विधान बमोजिम टोल समितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिव सहित बढीमा १५ जना रहने व्यवस्था गरिएको छ । टोल समिति गठन बाँकी रहेका अन्य टोलहरुमा समेत टोल समिति गठन गर्दै जाने कार्यक्रम रहेको वडा सभापति तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा १६ का विभन्न टोलटोलमा नेपाली काँग्रेसको संठन विस्तार एवं टोल समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्को प्रमुख आतिथ्यतामा शनिबार टोल कार्यसमिति चयन गरिएको हो । टोल कार्यसमिति गठनपूर्व मन्त्री खड्काले अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेस रोजेका करिब ३० जनालाई पार्टीमा स्वागत गरेका थिए । मन्त्री खड्काले नेपाली काँग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति कटिबद्ध हुन नवप्रवेशीहरुलाई निर्देशन दिए । नेपाली काँग्रेस पोखरा १६ का उपसभापति मीन गुरुङले विकास र समृद्धिका निमित्त नेपाली काँग्रेसमा गोलबन्द हुन आव्हान गरे । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि दिननाथ आचार्य, नेपाली काँग्रेस पोखरा १६ का सचिव बलराम अचार्य समाजसेवी उदिमबहादुर गुरुङ, शान्ति उदय आमा समूहका अध्यक्ष विष्णु गुरुङ लगायतले बोलेका थिए ।
यसबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातामन्त्री खड्काले पोखरा १६ जोगीमणिस्थित शान्ति उदय आमा समूहको भवन निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । मन्त्री खड्काले भवनको लगत स्टिमेट र नक्शा सहितका विवरण उपलब्ध गराउन समूहसँग आग्रह गरेका छन् । ‘भवन कस्तो र कति ठूलो बनाउने योजना छ, त्यसको नक्शा समेतको विवरण उपलब्ध गराउनुहोला,’ मन्त्री खड्का भने –‘तर हाललाई ५/७ लाख जति बजेटको व्यवस्था मिलाउँछु, पछि आवश्यकता अनुसार हेर्दै जानेछु ।’ भवनका लागि आवश्यक भाडाँकुडा तथा फर्निचरको व्यवस्थापन गर्न समेत आफ्नो तर्फबाट सहयोग हुने मन्त्री खड्को भनाई छ । मन्त्री खड्काले आमा समूहले भवन निर्माणका लागि खरिद गरेको जग्गाको समेत स्थलगत निरीक्षण समेत गरेका छन् । आमा समूहले भवन निर्माणार्थ स्थानीय जोगीमणि फाँटमा १ रोपनी जग्गा खरिद गरेको छ ।










सम्बन्धित खवर
















