
पोखरा भ्यूज
काठमाडौं । विगत १३ दिनदेखि अनसनरत बाँकेकी महिला अधिकारकर्मी रुबी खानले मंगलबार आमरण अनसन तोडेकी छन् ।
गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा नन्कुन्नी धोवी एवं निर्मला कुर्मीको शंकास्पद मृत्यको निष्पक्ष छानविन गर्न ६ सदस्यीय समिति बनाउने सहमति भएपछि रुबीले १३ दिनअघिदेखि शुरु भएको अनसन तोडेकी हुन् । माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनसनरत रुवीलाई जुस खुवाएर अनसन तोडाएका हुन् । नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि रुवी सहितको टोली काठमाडौं आएको थियो ।
नेपालगञ्जका नन्कुन्नी धोवीको शंकास्पद मृत्य एवं निर्मला कुर्मी बेपत्ता घटनाको निष्पक्ष छानविनको माग गर्दै अनसन बसेकी रुवीलाई प्रक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो । न्यायका लागि लड्दै गर्दा उल्टै आफूमाथि झूठ्ठा मुद्दा लगाएर न्याय मार्न खोजिएको भन्दै अधिकारकर्मी रुवीले प्रहरी हिरासतभित्र पनि अनसन जारी राखेकी थिइन । उनका अनुसार असोज २२ गते साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल लगियो । त्यहाँ उपचार सकिए लगत्तै उनलाई सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट उनलाई जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगेर राखियो । र, बारम्बार अनसन तोड्न दबाब दिइएको थियो । यद्यपि उनी बन्दीप्रत्यक्षीकरणको रिटमा २४ घण्टाभित्र प्रहरी हिरासत मुक्त गर्न आदेश भयो ।
अदालतबाट रिहाइ पाएपछि माइतिघरको सडकमा नै अनसन बसिरहेकी रुबीलाई स्वास्थ्य समस्या देखिएपछि पुनः अस्पताल लगिएकोमा अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेपछि मात्र उनी अन्य आन्दोलनरत साथीहरूलाई भेट्न आएकी थिइन ।






सम्बन्धित खवर
















