मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख प्यासीलाई बुझाए राजीनामा, नयाँ सरकार गठन गर्न आव्हान
- November 1, 2021
- 1674

विराटनगर । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजनीनामा दिने घोषणा गरेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको कार्यकक्षमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
उनले राजीनमा पत्रमा प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गरेका छन् ।
१० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए । उनले राजीनामा दिएपछि प्रस्ताव मतदान गर्ने कार्यसूची रोकिएको छ ।
उता प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।
सोमबार नै गठबन्धमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका ५० सांसदले हस्ताक्षर संकलन गरेका छन् । प्रदेश १ मा भोलि नै नयाँ सरकार गठन हुनेछ ।






सम्बन्धित खवर
















