
पोखरा भ्यूज
२६ फागुन, पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा सेवारत एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । करिब १७ वर्ष निजी स्रोतमा रही सेवा गरी निवृत्त भएका शिक्षक सुकबहादुर थापालाई उक्त सम्मानसहित बिदाइ गरिएको हो ।
शुक्रबार विद्यालयले एक विशेष समारोहको आयोजना गरी शिक्षक थापालाई सम्मान गरेको हो । उनी २०६२ देखि विद्यालयमा सेवा प्रवेश गरेकामा उमेदर हदका कारण अवकाश भएका हुन् । उनले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिए ।
उनीसँगै शिक्षिकात्रय बिना तिमिल्सिना, पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मानसहित बिदाइ गरिएको छ । तिमिल्सिना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गरे । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको स्मरण गरे ।
कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राखेका थिए । उनीहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिएका थिए ।







सम्बन्धित खवर















