
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवाहरुलाई लक्षित गरी आर्थिक पुनरुथ्थान र जीविकोपार्जनसंग जोड्ने उद्देश्यले सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा संचालित नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत पर्यटनमैत्री प्रबिधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजना अन्तर्गत उक्त तालिम सुरु गरिएको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राबिधिक सहयोगमा सुरु भएको उक्त तालिममा पदयात्रासंग सम्बन्धित बिभिन्न सैदान्तिक र प्रयोगात्मक कक्षाहरु मार्फत सहभागीलाई प्रशिक्षण दिईनेछ ।
पन्ध्र दिनसम्म संचालन हुने तालिममा अन्नपूर्ण गाउँपालिकाका एघार वटै वडाका करिब ३५ जना युवाहरु सहभागी छन् । तालिम कार्यक्रम सम्पन्न भए पछी युवाहरुलाई पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा परिक्षा संचालन गरेर उत्तीर्ण युवाहरुलाई लाइसेन्स समेत दिने तयारी रहेको कार्यक्रम संयोजक एबम सूचना प्रबिधि अधिकृत ई. सूर्य तिमिल्सिनाले बताए ।

सोमबार गाउँपालिका सभाहलमा आयोजित ट्रेकिङ गाइड तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत खेमराज देबकोटाले गाउँपालिकाले एकीकृत पर्यटक सूचना केन्द्र संचालन गर्न लागेको हुँदा गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति गाउँपालिकामै उत्पादन गर्ने र बेरोजगार युवाहरुलाई पर्यटन र रोजगारसंग जोड्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको बताए ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिब मनमाया भट्टराई पंगेनीले बेरोजगार युवाहरुलाई देशमै केही गर्ने वातावरण तयार गरेर अन्नपूर्ण गाउँपालिकाले सराहनीय काम गरेको बताइन् । नव प्रवर्धन साझेदारी कार्यक्रमको महत्वपूर्ण अंगको रुपमा यो तालिम रहेको बताउंदै यस्ता कार्यक्रममा प्रदेश सरकार समेत सहयोग गर्न तत्पर रहेको बताइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै काय्रक्रमको अध्यक्षता समेत ग्रहण गरेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले काठमाडौं गएर लिनुपर्ने तालिम गाउँपालिकाले गाउँमै आयोजना गरेको हुँदा तालिमको भरपुर सदुपयोग लिन सहभागीहरुलाई आग्रह गरिन् ।
अन्नपूर्ण आधार शिबिर,घान्द्रुक जस्ता पर्यटकीय गन्तब्य रहेको पालिकामा पहिलो पटक गाउँपालिकाले स्थानीय स्तरमै निशुल्क रुपमा तालिम संचालन गर्न लागेको हो । पछिल्लो समय पर्यटनको क्षेत्रमा प्राथमिकताका साथ कामगर्दै बिभिन्न गतिबिधि गर्दै आएको छ ।







सम्बन्धित खवर
















