
पोखरा भ्यूज
१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः बस्न सकेन । २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक साढे छ घन्टापछि सूचना निकालेर भोलिका लागि सारिएको छ ।
नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा केही निष्कर्ष निस्कन नसकेपछि सभामुख घिमिरेले भोलि ४ बजेका लागि बैठक सारेका हुन्।
नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडानबाट टसकोमस भएका छैनन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्तावमा अडान राखेको छ ।
एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए ।
बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने आजको कार्यसूची तय थियो ।











