1Shares

पोखरा भ्यूज

पोखरा । स्टार्स स्टुडियो पोखराको प्रस्तुतीमा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ कार्यक्रमको घोषणा गरेकी थिइन् ।

प्रतियोगितामा रोटरी वा रोट्याक्ट मा आवद्ध भएको जुनसुकै उमेर समुहले भाग लिन सक्नेछन् । प्रतियोगितामा रोटरी र रोटरी बिच एकल नृत्य तथा रोट्याक्ट-रोट्याक्टबिच सामुहिक नृत्यमा प्रतिष्पर्धा हुनेछ ।

जुनसुकै नेपाली गीतमा नृत्य गर्नपाइएपनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामुहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा १२ जना सम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेट सम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहित हुनेछ ।

स्टार्स स्टुडियो र स्टार्स फाउण्डेशनको संयुक्त आयोजनामा गरिने यस प्रतियोगिताको फाइनल आगामी मंसिर १६ गते भव्य कार्यक्रमकाबिच गरिनेछ । प्रतियोगिताको लागि रोट्याक्ट क्लब अफ पोखरा प्याराडाइजले सहकार्य गरेको छ ।

यस प्रतियोगितामा भाग लिन चाहनेहरुको लागि आवेदन फाराम खुलिसकेको छ । आवेदन फाराम न्युरोड पोखरामा रहेको स्टार्स स्टुडियोको कार्यालयमा उपलब्ध रहेको स्टुडियोका सञ्चालक जसमाया गुरुङ जसुले जानकारी दिइन् ।

२०७३ सालमा स्थापना भएको स्टार्स स्टुडियो प्रालिको सातौं वार्षिकोत्सव तथा २०७६ सालमा स्थापना भएको स्टार्स फाउण्डेसन नेपालको चौथौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । दुवै संस्था दर्ता भएको असोज ७ गते हो ।

स्टार्स स्टुडियोले ‘लोक संस्कृति र हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला, कवितामा नृत्य, चित्रकलामा नृत्य, ३० वर्ष माथिको उमेर समुहको नृत्य प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता, पुष १५ टिकटक प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, गुरुङ गीत एकल नृत्य प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

यसैगरी स्व.तिलमाया गुरुङ स्मृति सम्मान, स्टार्स संस्कृति सम्मान, स्टार्स समाजसेवी सम्मान कार्यक्रम समेत संस्थाले गर्दै आएको छ । बालबालिकाको लागि स्टार्स समर क्याम्पका दुई संस्करण समेत आयोजना भयो ।

फाउण्डेसनको स्थापना पश्चात स्टुडियोले गर्ने सबै कार्यक्रममा फाउण्डेसनले साथ दिँदै आएको छ ।
विभिन्न म्युजिक भिडियो निर्माण मात्र नभएर गुरुङ चलचित्र निर्माणमा समेत स्टुडियोेले हात हालेको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा पहिलो चलचित्र ‘म्लेक्यू’ अर्थात विर्साउने पानी, दोस्रो चलचित्र ‘मि-थों’ अथार्त खुल्ला आँखा चलचित्र निर्माण भएको थियो । अब तेस्रो चलचित्र निर्माणको तयारीमा समेत स्टुडिया जुटेको निर्देशक समेत रहेकी जसुले बताइन् ।

डान्सिङ स्टार्स कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिनेछ ।

पोखराको न्युरोडमा रहेको स्टार्स स्टुडियोको कार्यालयमा विभिन्न जनजातिका सांस्कृतिक भेषभुषा तथा गरगहना साथै आधुनिक रेडिमेड कपडाहरु भाडामा उपलब्ध हुन्छन् । यसैगरी नृत्य क्षेत्रमा अगाडी बढ्न चाहनेको लागि नृत्य प्रशिक्षण समेत गराइन्छ । वार्षिकोत्सवको दिनमा सार्वजनिक गरिएको कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भैसकेको गण्डकी प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ सभा सदस्य समेत रहेकी जसुले बताइन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected