
पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै मौलिक पहिचानका कारण चर्चित बनेको कन्दराको स्वरले देशमै मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि आ–आफ्नो घर र माटो सम्झाइरहेको छ। यही संगीतलाई गुञ्जयमान गराउन र नेपालीलाई संगीत मार्फत घर फर्किएको अनुभव दिलाउन कन्दराले जापानमा कार्यक्रम प्रस्तुति दिने तयारी गरेको छ।

यो यात्रा केवल विगतको सम्झना मात्र नभई वर्तमानको उत्साह र भोलिको सपना पनि हो। परम्परा र आधुनिकतालाई सन्तुलन गर्दै कन्दराले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने संकल्प बोकेको छ। यही उद्देश्यले उनीहरू अहिले जापान यात्रामा जान लागेका छन् ।

कन्दराले जापानमा दुई ठूला सांगीतिक कार्यक्रम गर्ने तयारी गरेको छ। कार्यक्रमको आयोजना SEWA合同会社ले गर्नेछ भने YOMAN WAVE र BIJULI Entertainmentले व्यवस्थापन गर्नेछन्।
ब्याण्डले पहिलो प्रस्तुति ४ सेप्टेम्बर २०२५ मा Club Citta, Tokyo मा गर्ने भएको छ। Club Citta टोकियोको प्रतिष्ठित लाइभ हाउस स्थल हो, जहाँ विगतमा विश्वकै ख्यातिप्राप्त कलाकार र ब्याण्डहरूले आफ्नो प्रस्तुति दिइसकेका छन्। यस मञ्चलाई जापान मात्र नभई विश्व संगीत उद्योगमै एक महत्वपूर्ण केन्द्र मानिन्छ।
त्यस्तै गरि ब्याण्डको दोस्रो सांगीतिक कार्यक्रम १० सेप्टेम्बर २०२५ मा नागोयास्थित Diamond Hall मा हुने छ जुन नागोया को प्रमुख कन्सर्ट स्थल हो।
जापानमा रहेका नेपाली समुदाय मात्र होइन, संगीतप्रेमी जापानी दर्शकलाई समेत नेपाली धुनको स्वाद चखाउने लक्ष्यसहित कन्दराले यो प्रस्तुतिको तयारी गरेको ब्याण्डका संस्थापक अध्यक्ष तथा लिड भोकलिस्ट बिबेक श्रेष्ठले बताउनु भयो। उहाँले भन्नुभयो, “कन्दराको यात्रा पोखराबाट सुरु भए पनि यसको धुन अहिले संसारभर पुगेको छ। संगीतले नेपालीलाई चाहे स्वदेशमा होस् वा विदेशमा, एउटै धागोमा बाँध्छ भन्ने विश्वास हामीमा सधैं छ। जापानमा हुने यो प्रस्तुति हाम्रो लागि केवल मनोरञ्जन होइन, संस्कृतिको सम्मान र मित्रताको अभिव्यक्ति पनि हो।”
सह–संस्थापक तथा ड्रमर सुनील थापाले भन्नुभयो, “हामीले परम्परालाई सम्मान गर्दै नयाँ पुस्तासँग जोड्ने खालको संगीत सिर्जना गर्ने प्रयास गरेका छौँ। यही कारणले आज कन्दरा विश्वभरका नेपाली श्रोतालाई आफ्नै धुनमा बाँध्न सक्षम भएको छ।”
जापान टुरपछि कन्दराले अमेरिका, क्यानडा र युरोपमा समेत कार्यक्रम गर्ने तयारी गरेको ब्याण्डका Executive Consultant American company Bishishta International का CEO डा. प्रसिदा खनालले जानकारी दिनुभयो। “जापानपछि अमेरिका, क्यानडा र युरोपमा कन्दराको भव्य सांगीतिक कार्यक्रम आयोजना हुने तयारी भइरहेको छ। यसले नेपाली संगीतलाई अझ व्यापक अन्तर्राष्ट्रिय सन्देश दिनेछ र नेपाली कलाकारलाई विश्व रंगमञ्चमा अझ मजबुत बनाउनेछ,” खनालले भन्नुभयो।
जापानमा हुने प्रस्तुतिहरूलाई सफल बनाउन आयोजक तथा व्यवस्थापन टोलीले तयारी तीव्र पारेको छ र कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने आयोजकले जनाएका छन्।
संगीत–साहित्य र संगतका धुनहरूले नेपालीलाई आफ्नो जरा र माटोसँग जोड्ने काम गरेको अनुभव श्रोताले साझा रूपमा व्यक्त गर्दै आएका छन्। जापान टुरलाई पनि यसैको निरन्तरता मानिएको छ, जसले नेपाल–जापान मित्रतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको लागि ब्याण्डका संस्थापक अध्यक्ष तथा लिड भोकलिस्ट बिबेक श्रेष्ठ नेतृत्वमा, सहसंस्थापक तथा ड्रमर सुनील थापा, मादलिस्ट अविनाश गायाक, बासिस्ट पंकज झा, गितारिस्ट सन्देश मुँजो, कीबोर्डिस्ट निल घतानी, साउन्ड इञ्जिनियर साइमन तज्या र प्राविधिक विशेषज्ञ नबिन थापाको टोली सेप्टेम्बर २, २०२५ मा जापान जाने तयारीमा रहेका छन्।





