
काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपाल, एरिया–६, रिजन–१४, जोन–३२ अन्तर्गतको क्लब काठमाडौँ फिनिक्सका अध्यक्ष दीपशिखा शर्माको अध्यक्षतामा तथा द्वितीय उपाध्यक्ष लायन यशोदा गुरुङको सक्रियतामा सम्पन्न कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर मनबहादुर रोक्काको प्रमुख आतिथ्यता रहेको थियो भने डिस्ट्रिक्ट एडमिनिष्ट्रेटर राजु चालिसे, डिस्ट्रिक्ट कोअर्डिनेटर सरिता श्रेष्ठ तथा जोन चेयरपर्सन सुमन खरेल शर्मालगाएतको विशेष उपस्थिति रहेको थियो।

डिस्ट्रिक्ट कोअर्डिनेटर तथा महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम संयोजक सरिता श्रेष्ठले सहभागी ४५ जना महिलालाई मेनोपोजका कारण, लक्षण, देखिने समस्या तथा समाधानका उपायबारे जानकारी दिएकी थिइन्। साथै, रजोनिवृत्तिको समयमा मानसिक सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा पनि उनले प्रशिक्षण दिइन्।
कार्यक्रमको दोस्रो सत्र अन्तर्गत मानसिक स्वास्थ्य सुदृढीकरण क्लबका प्रथम उपाध्यक्ष यशोदा गुरुङले सञ्चालन गरेकी थिइन्। यस क्रममा तनाव व्यवस्थापन, ध्यान अभ्यास, सहानुभूति तथा कृतज्ञता अभ्यास जस्ता व्यवहारिक गतिविधि गराइएको थियो।
प्रमुख अतिथि मनबहादुर रोक्काले वर्तमान सामाजिक परिस्थितिले मानसिक स्वास्थ्यमा पारेको प्रभावबारे चर्चा गर्दै यस्ता सचेतनामूलक कार्यक्रम समय सान्दर्भिक र आवश्यक रहेको बताए। त्यसैगरी, विशेष अतिथि राजु चालिसेले महिलामुखी मानसिक स्वास्थ्य कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम अमेरिका निवासी वरिष्ठ पत्रकार तथा समाजसेवी शेखर ढुंगेलको विशेष सहयोगमा सम्पन्न भएको हो। आयोजक लायन्स क्लब अफ काठमाडौँ फिनिक्सले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।







सम्बन्धित खवर















