0Shares

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया

पोखरा, फागुन ११गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल १६ वटै प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य सचिव (मेडिकल सुपरिटेन्डेन्ट)हरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मन्त्री कृष्ण प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्मा, प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटा, मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार के.सी., प्रदेश अतिरिक्त सचिव खिम बहादुर खड्का तथा सचिव डा. युवानिधी बसौलाले सहजीकरण गरेका थिए।

कार्यक्रममा विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूले आफ्ना अस्पतालका समसामयिक चुनौती, सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका विषयमा धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले प्रदेश सरकारबाट जारी ऐन, नियम, निर्देशिका र कार्यविधिअनुसार तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे। “अस्पतालको समग्र व्यवस्थापन, सेवा गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि समितिले सक्रिय नेतृत्व दिनुपर्छ,” उनले भने।

नवगठित समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै उनले प्रदेशका अस्पतालहरूलाई नागरिकको भरोसायोग्य स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न सबैको समन्वय र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

मन्त्रालयका सूचना अधिकारी प्रशान्त राज शर्माका अनुसार, उक्त अन्तरक्रिया कार्यक्रमले अस्पताल व्यवस्थापन समितिहरूबीच अनुभव आदानप्रदान तथा समन्वय सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected