लेखनाथ महोत्सवको २१औँ संस्करण आजदेखि सुरु, संस्कृति र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
- December 18, 2025
- 2025

पोखरा। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा २१औँ संस्करणको लेखनाथ महोत्सव आजदेखि सुरु हुँदैछ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन आज बिहीबार एक विशेष समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले जानकारी दिइन् । उनका अनुसार महोत्सव लेखनाथ क्षेत्रको पहिचान स्थापित गर्दै स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवर्द्धन र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
पराजुलीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट महोत्सवको सुरुवात गरेको स्मरण गर्दै २०६१ सालदेखि यसलाई वार्षिक रूपमा निरन्तर सञ्चालन गर्दै आएको बताइन् । विभिन्न जातजाति, भाषा–भाषी र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गरी सामाजिक सद्भाव र सांस्कृतिक पहिचान मजबुत बनाउने उद्देश्यसमेत महोत्सवको रहेको उनको भनाइ छ । महोत्सवमार्फत यस क्षेत्रमा उत्पादित कृषि, घरेलु तथा महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ ।
पुष ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योगसम्बन्धी टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक तथा साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृतिलाई झल्काउने झाँकी र्याली तथा सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ । साथै ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्टसमेत आयोजना गरिने महोत्सवका प्रचार–प्रसार संयोजक तथा संघका महासचिव ध्रुबबाबु भट्टराईले बताए ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक सामग्री, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउबिजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल तथा अटोमोबाइल प्रदर्शनी रहनेछ । पर्यटन प्रवर्द्धन सामग्री र वित्तीय सेवासम्बन्धी जानकारीसमेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक तथा सूचनामूलक गरी जम्मा ३ सय ३५ वटा स्टल रहनेछन् ।
महोत्सव अवलोकनका लागि करिब २ लाख ५० हजार दर्शक आउने र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई करिब १० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि. रहेको छ भने सह–प्रायोजकमा बीएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौडा डेरी रहेका छन् । प्रवर्द्धकका रूपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।













