फागुन २१ लक्षित गर्दै नेपाली कांग्रेसको विशेष सर्कुलर : “१ सदस्य–१० घर” अभियान अनिवार्य

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिले विशेष निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित सर्कुलरमार्फत प्रदेशदेखि वडा तहसम्मका सम्पूर्ण समितिलाई सक्रिय, योजनाबद्ध र परिणाममुखी ढंगले परिचालन हुन आग्रह गरिएको छ।
केन्द्रीय कार्यालयद्वारा जारी सर्कुलरमा उम्मेदवारलाई विजयी बनाउन तथा समानुपातिक मत वृद्धि गर्न प्रचार–प्रसार, समन्वय र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। पार्टीले अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न ठोस कार्ययोजना अघि सारेको छ।
मुख्य निर्देशनहरू:
१. “नेपाली कांग्रेसको प्रतिबद्धता” विषयमा अन्तरक्रिया कार्यक्रम
प्रदेशदेखि वडा तहसम्म पार्टीका बुद्धिजीवी, शुभेच्छुक र मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्न भनिएको छ। यसका लागि प्रेस युनियनलगायत सम्बद्ध पेशागत संगठनहरूको सहयोग लिन पनि निर्देशन दिइएको छ।
२. “१ (एक) पार्टी सदस्य – १० घर” अभियान अनिवार्य
वडा तहमा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रत्येक सदस्यले कम्तीमा १० घरमा प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्ने व्यवस्था गरिएको छ। यस अभियानलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न जोड दिइएको छ।
३. सामाजिक सञ्जालको प्रभावकारी प्रयोग
पार्टीको आधिकारिक फेसबुक पेज, टिकटक र वेबसाइटमा प्रकाशित सामग्री सबै सदस्यले अनिवार्य रूपमा शेयर तथा पुनः अपलोड गर्नुपर्ने उल्लेख गरिएको छ। बिहान ८:००–८:३० र बेलुका ६:००–६:३० बजेको समयलाई सामाजिक सञ्जालमा बढी प्रभावकारी समयका रूपमा तोकिएको छ।
४. केन्द्रीय नेताहरूको सहभागिता सुनिश्चित गर्ने
केन्द्रीय सभापति, उपसभापतिलगायत शीर्ष नेताहरूको आमसभा र विशेष कार्यक्रममा सक्रिय सहभागिता सुनिश्चित गर्न सम्बन्धित तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
५. वास्तविक अवस्थाको प्रतिवेदन केन्द्रमा पठाउने
आ–आफ्ना निर्वाचन क्षेत्रको वस्तुस्थिति, चुनौती र सम्भावनाबारे यथार्थ विवरण संकलन गरी तत्काल केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन आग्रह गरिएको छ।
सर्कुलरमा सबै तहका नेताकार्यकर्तालाई एकताबद्ध, जिम्मेवार र अनुशासित ढंगले निर्वाचन अभियानमा खटिन आह्वान गरिएको छ। पार्टीले संगठनात्मक सुदृढीकरण र प्रभावकारी जनसम्पर्कमार्फत निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।







सम्बन्धित खवर















