पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच
- December 21, 2025
- 1818

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न भएका छन्।
इनरह्विल क्लब अफ पोखरा तथा पोखरा महानगरपालिका वडा नं. ३ को आयोजनामा, युआरएल र पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा आयोजित शिविरमा २ सय ३ जनाको थाइराइड तथा मधुमेहसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिएको हो।

त्यसैगरी, लायन्स क्लब अफ पोखरा ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा पोखरा–८, शिवालयचोकमा मधुमेह, थाइराइड तथा मिर्गौलासम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको छ। उक्त शिविरमा ३ सय ५२ जनाले सेवा लिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए।
अध्यक्ष पन्थले गण्डकी प्रदेशकै पहिलो र अग्रणी प्रयोगशालाका रूपमा युआरएलले निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वमा समेत अग्रणी भूमिका खेल्दै आएको बताए। उनले भने, “स्थापनाको १२ वर्षको अवधिमा विभिन्न संघसंस्थासँगको सहकार्य तथा आफ्नै पहलमा गरी २ सय १४ वटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छौं। साथै, विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य सचेतना कार्यक्रम पनि निरन्तर चलाइरहेका छौं।”
पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले जनतालाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व राज्यले मात्र पूरा गर्न कठिन हुने उल्लेख गर्दै संघसंस्था तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, थाइराइडलगायत नसर्ने रोग लाग्ने कारण, उपचार विधि र जटिलताबारे जानकारी गराए। उनले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउन सके धेरै नसर्ने रोगबाट बच्न सकिने बताए।
त्यसैगरी, वरिष्ठ स्त्री तथा प्रसूति एवं बाँझोपन रोग विशेषज्ञ डा. सरिता गुरुङले नेपाली महिलाहरू अझै पनि रोग लुकाउने प्रवृत्तिमा रहेको उल्लेख गर्दै समस्या देखिनासाथ उपचार खोज्न आग्रह गरिन्। उनले भनिन्, “रोग लुकाएर होइन, समयमै उपचार गरेपछि जीवन सहज हुन्छ। महिलाहरू पाठेघर, बाँझोपनजस्ता समस्याबाट बढी पीडित हुन्छन्, कतिपय अवस्थामा हिंसा पनि सहनुपर्छ। त्यसैले बेलैमा उपचार गरौं।”
लायन्स क्लब अफ ब्युटिसिटीकी अध्यक्ष कल्पना सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट फेलोसिप चिफ सबी शेरचन, शिवालय टोल विकास संस्थाका अध्यक्ष ईश्वरप्रसाद सुवेदी, लायन्स क्लब अफ ब्युटिसिटीकी सचिव सुनिता अधिकारीलगायतले मन्तव्य राखेका थिए।





























