0Shares

पोखरा भ्यूज
पोखरा, १३ श्रावण । ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ, सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ । उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा छ ।
आगामी भदौ १० गतेदेखि देशभर प्रदर्सनमा आउन लागेको चलचित्र ‘प्रकाश’ को प्रचारमा चलचित्रको टिम देश दौडाहमा निक्लिएको छ । गरिब युवाको शिक्षक बन्ने सपनामा आधारित चलचित्रले रिलिज हुनुअगावै आधा लगानी उठाइ सकेको छ । निकै फरक भुमिकामा देखिएको कलाकार प्रदिप खड्काले फेरी एक पटक हलमा दर्शक तान्ने आशा जगाएको छ । क्युट अनुहार भएका प्रदिपको हुलिया नै चर्चित बनिरहेको छ । चलचित्रमा अभिनेता प्रदीप खड्काले सुदूरपश्चिम क्षेत्रका एक शिक्षकको भूमिका निर्वाह गरेका छन् ।
प्रदीपसँगै चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखनमा रहेको सो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
निर्देशक दिनेश राउतले जु्म्लाको निम्न वर्गीय पात्रको सपना बोकेको कथा रहेको बताए । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र मनोरञ्जनका लागि मात्रै नभई डकुमेन्ट्री तरिकाको रहेको सुनाए । उनले अधिकांश चलचित्र आम नागरिकको जिवन भन्दाबढी कथामा आधारित हुनेगरे पनि यो चलचित्र भने फरक रहेको सुनाए । ‘ यो शिक्षक बन्ने संघर्षमा के कि कस्ता किसिमका बाधा आउँछन भन्ने नै मुख्य विषय वस्तु हो’ उनले भने ।
चलचित्र लेखक विकास सुवेदीले साहित्यको उच्चतम विन्दु चलचित्रलाई लिने बताउँदै ‘प्रकाश’ समाजको साझा समस्या बोकेको कथा रहेको सुनाए । ‘गरिब परिवारको युवाले एउटा सपना देख्छ र शिक्षक बन्ने चाहाना राख्छ’ उनले भने,‘ त्यही पात्रले शिक्षक बन्न गरेको संघर्षको कथा हो प्रकाश’
ग्रामिण समस्या पोखरा र काठमाडौबाट मात्र हेर्दा बुझ्न नसकिने हुदाँ आफु जुम्ला पुगेर नै त्यहाँको समस्याको बारेमा भनेको कुरालाई चलचित्रको माध्यमबाट उतारेको सुवेदीले बताए । अरु फिल्म भन्दा प्रकाशका लागि धेरै समय पोखरामा बिताएको नायक प्रदिप खड्काले सुनाए । उनले प्रकाश जुम्लामा सुटिङ भएपनि समग्र देशको समस्यालाई बोकेको र राजनैतिक व्यवस्थासँग जोडिएको बताए । ‘किसानको मात्र होइन् यो हाम्रो राजनीतिक व्यवस्था र राजनिति संकारसँग जोडिएको विषय पनि हो । यो पुर्व देखि पश्चिमसम्मको भोगाइको कहानी हो’ उनले भने, ‘एक युवाको संघर्ष र शिक्षक बन्ने सपना बिचको पुल सरकार हो । यो टिमसँग जोडिदा खुसी छु ।’ चलचित्र मनोरञ्जनका लागि मात्रै छैन् । यो एक गरिब युवाको सपनामा देशको ऐन, कानून, विधि विधान र प्रक्रियाले पार्ने प्रभावका विषयलाई समेत उठान गरेको छ । आखाको शितलता दिने फिल्म गरिराखेको मान्छेले मनलाई छुने फिल्म खेलेको कारण पनि धेरै दर्शकले रुचाउनेमा आशावादी रहेको उनले सुनाए । यस्तै नायिका दिया मास्केले फिल्ममा वास्तविकतालाई प्राथमिकतामा राख्दै काम गरेको सुनाइन् । उनले आफुले फिल्मको सुटिङ दौरान् उक्त स्थानमा नुहाउन समेत नपाएको सुनाइन् । ‘महिलाहरुलाई त्यो ठाउँमा निकै समस्या रहेछ । जुन समस्या हामी भोग्न नै सक्दैनौँ । कल्पना गरेभन्दापनि भयानक रहेछ’ उनले भनिन्,‘म आफैपनि एक महिना बढी नुहाउन पाइन् । हामी किसानसँगै गएर काम पनि गर्‍यौ ।’ प्रकाश आमा छोराको कथा भन्दा समेत फरक नपर्ने उनले सुनाइन् । चलचित्र नेपाल सहित अमेरिकाको पाँच शहरमा समेत रिलिज हुँदैछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected