1Shares

पोखरा ।  रुपा गाउँपालिकाले गाउँपालिका स्थापना दिवसका अवसरमा ‘अध्यक्ष कप खुला वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ ।

युवाहरुलाई खेलकूदतर्फ आकर्षित गरी स्वस्थ्य र समुन्नत समाज निर्माणको लक्ष्य सहित गाउँपालिका स्थापना दिवसका अवसरमा यही फागुन २४ देखी २७ गतेसम्म भलिबल प्रतियोगिता, लोपोन्मुख संस्कृति संरक्षणका लागि गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिने गाउँपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका वडाबाट सहभागिता जनाउन सकिने रूपा गाउँपालिका कास्कीका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार यसअघि विसं २०७५ मा पहिलोपटक अध्यक्ष कप स्थानीय तह भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा विजेता टोलीले रु एक लाख ५० हजार, उपविजेतालाई रु ८० हजार, तृतीय टोलीलाई रु ४० हजार र सान्त्वना टोलीले रु २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

यसैगरी गाउँपालिकाले पालिकाका सात वटै वडाहरुमा लोप हुन लागेका जातजातिहरुको संस्कृति, परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी बरालले जानकारी दिए ।

बरालका अनुसार  झाँकी प्रतियोगिताको प्रथम,द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमश रु ३० हजार, २० हजार  रु १० र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने विभिन्न प्रजातिका फूल तथा दुबोको प्रवद्र्धनका लागि प्रतियोगिता गर्ने भएको छ । माला प्रतियोगितामा विजेताले रु छ हजार, द्धितीयले रु चार हजार र तृतीय हुनेले रु दुई हजार पुरस्कार पाउनेछन् । माला प्रतियोगितामा समावेश हुनका लागि मालामा बाह्य बस्तुहरु जरी, फूल लगायतका बस्तहरु प्रयोग गर्न नपाइने र झाँकी प्रतियोगितामा सहभागी हुने समूहबाट एउटा समूहले बढीमा १०वटा माला समावेश गर्नुपर्ने नियम बनाइएको छ ।

गाउँपालिकाले यस वर्ष रुपा रत्न सम्मान द्धारा गाउँपालिका भित्रकका कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई नगद पुरस्कार रु पाँच हजार सहित ताम्रपत्र र दोसल्लाबाट पुस्कृत गरिने अध्यक्ष ओझाले बताए ।

संवैधानिक व्यवस्था अनुसार घर गाउँको सरकारको रुपमा स्थापित गाउँपालिकाले स्थानीय विकास र नागरिकका सरोकारका विषयलाई उठाउँदै समाधान गर्न पाउँदा आफूहरु खुःशी रहेको अध्यक्ष ओझाले बताए ।

संघ र प्रदेश सरकारको सहयोगमा खानेपानी, सडक, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गाउँपालिकामा उल्लेखनीय कार्य गर्न सफल भएको अध्यक्ष ओझाको भनाई छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected