
पोखरा। महेन्द्र माध्यमिक विद्यालय, घार्मीमा करिब ३५ वर्ष सेवा गरेका प्रधानाध्यापक बासुदेव पौडेललाई सम्मानसहित विदाई गरिएको छ। उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा उनलाई विदाई गरिएको हो।
निमित्त प्रधानाध्यापक नन्दराज दाहालका अनुसार पौडेलको पहिलो नियुक्ति नै सोही विद्यालयमा भएको थियो। वि.सं. २०४८ साल साउनमा अंग्रेजी शिक्षकका रूपमा विद्यालयमा प्रवेश गरेका पौडेल सोही वर्ष प्रधानाध्यापकमा नियुक्त भएका थिए। त्यसयता उनले निरन्तर ३५ वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण नेतृत्व प्रदान गरेका थिए।
लामो समय विद्यालयको शैक्षिक र प्रशासनिक नेतृत्व सम्हालेका पौडेललाई विद्यालय परिवार र विद्यार्थीहरूले सम्मानपूर्वक विदाई गर्दै उनको योगदानको स्मरण गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष होमनाथ आचार्य तथा निमित्त प्रधानाध्यापक नन्दराज दाहालले उनलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले विद्यालय स्थापना र शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रधानाध्यापक पौडेलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि विद्यालयका लागि उनको मार्गदर्शन आवश्यक रहने उल्लेख गरे।
संस्थापक अध्यक्ष महेश्वर पौडेलले विद्यालय स्थापनाकालको स्मरण गर्दै प्रधानाध्यापक पौडेलको कार्यकुशलता र नेतृत्वकै कारण विद्यालयले आजको स्थान हासिल गरेको बताए। निमित्त प्रधानाध्यापक दाहालले पनि पौडेलको कार्यकालमा विद्यालयले शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय फड्को मारेको बताउँदै आगामी दिनमा निरन्तर सुझाव र सल्लाह दिन आग्रह गरे।
सम्मानित प्रधानाध्यापक बासुदेव पौडेलले विद्यालय र विद्यार्थीबाट पाएको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले आफू विद्यालयमा नरहे पनि यसको समग्र विकासका लागि निरन्तर सक्रिय रहने र बाँकी रहेका कामहरू पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष होमनाथ आचार्य, शिक्षासेवी तथा पौडेलका दाजु कृष्णप्रसाद पौडेल, शिक्षक रत्ना विश्वकर्मा, समाजसेवी रमेश विश्वकर्मा तथा विद्यार्थी हिमानी पौडेल लगायतले पनि अवकाशपछिको जीवनलाई शिक्षा र समाजसेवामा समर्पित गर्न सुझाव दिएका थिए।
उक्त अवसरमा शिक्षक, विद्यार्थी र अभिभावकहरूले प्रधानाध्यापक पौडेल तथा उनकी जीवनसंगिनी, सोही विद्यालयकी शिक्षिका कमला घिमिरेलाई फूलमाला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।
प्रधानाध्यापक पौडेलकै कार्यकालमा विद्यालयले तत्कालीन प्रवेशिका परीक्षामा जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा सम्मान पाएको थियो। साथै विद्यालयले शैक्षिक विकाससँगै भौतिक निर्माणका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
यसैबीच, सोही विद्यालयका कक्षा ९ का विद्यार्थीहरूले एसईईको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै विदाई कार्यक्रमसमेत आयोजना गरेका छन्।





सम्बन्धित खवर
















