0Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।
कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको हो ।

वालिङ नगरपालिकामा १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइ सकेको नगर प्रमुख दिलीप प्रताप खाँडले बताए । उनका अनुसार कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहेका सबैलाई खोप लगाउने गरी तयारी गरिएको छ ।

वालिङ नगरपालिकाभित्र रहेका अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन हुनेछ । यस अभियानले वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका सहयोग हुने नगरपालिकाको विश्वास छ ।

अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गर्ने नगरपालिकाको तयारी छ ।

तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने छ । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected