667Shares
लक्ष्मी मल्ल

पोखरा । अन्नपूर्ण क्षेत्रको मनमोहक हिमाली तथा स्थानीय जनजीवन, संस्कृति र सुन्दर प्रकृतिको भव्य दृश्य हेर्दे अवलोकन गर्दै छोटो र हल्का पदयात्राको लागि मर्दी हिमाल निकै प्रसिद्ध छ । हिमालको मनोरम दृश्यसँगै शुरु हुने यो पदयात्रा गण्डकी प्रदेशको कास्की जिल्ला, माछापुच्छ्र«े गाउँपालिका अन्तर्गत वाड न. ९ मा पर्दछ । रमणीय र सुन्दर दृश्यले यो पदयात्रा मार्ग छोटो समयमै नाम कमाउन सफल भएको छ । यो पदयात्रा सन् २००१ बाट शुरूवात भएको मानिन्छ । पहिला पहिला यो ठाउमा उपयुक्त होटल नभएकोले क्याम्पिङ पदयात्रा गराइन्थ्यो । अहिले पदयात्रा मार्गमा होटेल लजहरुको राम्रो ब्यबस्था छ । आफ्नो रुचि र शारीरिक अवस्था अनुसार तीन देखि पाँच दिनमा मर्दी हिमाल पदयात्रा पूरा गर्न सकिन्छ ।
अब पहिले मर्दी हिमालको इतिहासतर्फ लागौ । स्थानस्यबासीको अनुसार परापूर्वकालमा त्यहाँ उभु बराहको नाममा ठुलो मेला लाग्ने गर्दथ्यो । त्यस समयमा तीर्थ यात्राको रुपमा मर्दी हिमाल जाने गर्दथे । अहिलेको बेसक्याम्प देखि माथी उभु बराह देउता छन भन्ने भनाइ छ । भदौको जनै पुर्णिमामा त्यहा निकै ठुलो मेला लाग्ने गर्द्दथ्यो । मेला हिमालको आकर्षण दृश्यसँगै निकै भब्य हुने गर्दथ्यो । दुर्भाग्यवश, त्यहाँ एकपटक मेलाको बखत हिम आँधी आइ कयौ मानिसहरुको ज्यान लियो । त्यसपछी मेला लाग्न बन्द भएको र त्यो ठाउमा धेरै मानिसहरुको चिहान भएकोले त्यो ठाउँको नाम बगाले देउराली राखेको किम्वदन्ती रहेको छ ।अहिलेको भ्यू प्वाईन्टमा सोही हिम आँधीमा एक जनाको ज्यान गएको हुनाले एक्ले देउराली नाम राखिएको भनाई सुन्न पाईन्छ । त्यो घटना पछि मेला लाग्न बन्द भएको स्थानीयको भनाइ छ ।

 

मर्दी हिमाल पदयात्रा पहिलाको र अहिले फरक पाइन्छ । यो पदयात्रा शुरु गर्ने ठाउहरु धेरै छन । जस्तैः धम्पुस, काँडे, लान्द्रुक, ल्वाङ, सिदिङबाट पदयात्रा शुरूवात गर्न सकिन्छ । पोखरादेखि धम्पुससम्म मोटरगाडीबाट आधा घण्टामा पुग्न सकिन्छ । १६५० मिटरमा अवस्थित धम्पुसबाट लाग्दा उकालो हुँदै जंगलको बाटो लग्भग दुई घन्टाको हिँडाईमा पृत्तम देउराली (पुरानो नाम स्याम्छे देउराली) पुगिन्छ । सुइरेखर्क, ढुङ हुँदै फरेस्ट क्याम्प (२५५० मिटर) पुग्न पृत्तम देउरालीबाट पाँच घन्टा लाछ ।

त्यहाँबाट पदयात्रामा अघि बढ्दै उनुनदुङ हुँदै लो क्याम्प (पहिलाको नाम होमाल २९७०मिटर) पुग्न तीन घन्टा लाग्छ । लो क्याम्पबाट बादल डाडा करिब एक घण्टामा पुगिन्छ । बादल डाडाबाट हाइ क्याम्प पुग्न दुई घन्टा लाग्छ । हाइ क्याम्पको पुरानो नाम केउ खर्क हो । त्यहाँ पहिला भैंसी गोठ, भेडी गोठहरु थियो । गोठालाहरु बस्ने ठाउँ भएकोले त्यो ठाउको नाम केउ खर्क राखिएको स्थानीयको भनाइ छ ।

 

 

मर्दी हिमालको छोटो पदयात्राले हामीलाइ हिमालको नजिक करिब ४५०० मिटर सम्म पुरयाउँछ र प्रकितिको क्यानभासमा डुबाउछ । रमणीय गाउँ भएर जाने हुदा यस यात्रामा स्थानीय संस्कृतिको रमाइलो अनुभव लिन सकिन्छ । सुन्दर लालिगुरासहरुको साथमा जङगलमा उफ्रदै गाउँगाउँमा घुम्दै पदयात्राको भरपूर आनन्द उठाउन सकिन्छ । हिउले ढाकिएको हिमालहरुमा बिहानीको सूर्यको पहिलो किरणहरुले प्रकृतिबाट पदयात्रीलाई रोमान्चित गर्दछ । आश्चर्यजनक परिदृश्यको साथमा हामी हराउने गर्दछौ ।

 

हाइ क्याम्पमा सुदिप गौतम, बुद्धी तामाङ लगायतका दर्जनौ होटेल्हरु छन । मर्दी हिमाल भ्यू पोइन्ट देखि माथि उभु बराह भएको ठाउमा निकै सुन्दर गुफा रहेको छ । त्यहाँ पानीको मूलबाट सुन्दर झरना बनेको छ । त्यहाँ केही नाम चलेका पर्यटन ब्यबसायीहरुको सहयोगमा स्थानीयहरुको सागा (४४५० मिटर) भन्ने ठाउँबाट उभु बराह जाने गोरेटो बाटो बनाउने योजना रहेको छ । साथै, भ्यू पोइन्ट जाने बाटो पनि मर्मत गर्नु पर्ने अवस्था रहेकोले सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । यो गोरेटो बाटो बनेको खण्डमा अझै सुनमा सुगन्ध थपिने छ भन्ने स्थानीयको भनाइ छ । मर्दी हिमाल ५५५३ मिटर माछापुच्छ्रे हिमालको काखमा रहे जस्तो देखिन्छ।

मर्दी हिमाल पदयात्रालाई चर्चित बनाउन त्यहाँको स्थानीय सुदिप गौतमको ठुलो भूमिका रहेको स्थानीयबासी बताउँछन् । सबैभन्दा पहिला हाइ क्याम्पमा होटेल खोलेको गौतमलेनै हो । सिदिङ्मा पनि उनले होटल चलाएका छन् ।
पदयात्रामा जाने जो कोहीलाई भ्यू पोइन्ट पुग्दा स्वर्गको अनुभुती हुन्छ । माछापुच्छ्र«े हिमालको काखबाट सेता टल्केका दन्ते लहर हिमालहरुको अबलोकन गर्दै प्यारी प्रकृतिसँग लुट्पुटिन सकिन्छ । यो त साँच्चै नै स्वर्गको एक टुक्रा हो । मर्दी हिमाल साहसिक पदयात्रा पनि हो । यहाँ मुटु कमाउने भिर पहराहरु पनि छन । हेर्दै आङ सिरिङ्ग भएर आउछ । फरेस्ट क्याम्पबाट जङगल हुँदै ओरालो ल्वाङ गाउँ झर्न पनि सकिन्छ । तर, झन्दै दुई घन्टा लाग्ने बाटो बीचमा कुनै खानाको ब्यवस्था छैन । पदयात्रीले सिधै ल्वाङ्मा पुग्नुपर्छ ।

ल्वाङ गाउँ पहाडहरूको फेदमा छ, जहाँ सफा कन्चन बग्ने नदीहरू र सुन्दर उपत्यकाका साथै खेतमा काम गर्ने मेहनती किसानहरूको दृश्य देख्न पाइन्छ । ल्वाङघलेलको होमस्टेमा गुरुंङ समुदायको न्यानो आतिथ्यता पाइन्छ, जसले मर्दी हिमाल पदयात्राको थकानलाई मेटाउँछ । जुन पदयात्रीलाई अन्नपूर्ण क्षेत्रको इनाम प्राप्त गरे जस्तै महशूस हुन्छ । अन्नपूर्ण क्षेत्रको गुरुङ समुदायको प्रख्यात होमस्टेहरु मध्ये ल्वाङ गाउँको होमस्टे तपाईलाई स्मृति रहिरहनेछ । ल्वाङ गाउमा पाहुनालाई स्वागत र सुबिधाको लागी धेरै होमस्टेहरु सन्चालनमा छन । मर्दी हिमाल पदयात्रा ल्वाङ हुँदै जान पनि सकिन्छ । ल्वाङमा चियाबारीको अबलोकन गर्दै त्यहाँ साहसिक खेल क्यानोनिङमा रमाउदै यो पदयात्रा गर्न सक्छौ । नेपाली तथा बिदेशी पाहुनाहरुले निकै मन पराउने मर्दी हिमाल पदयात्रामा तपाईं पनि जाने कि ? कोभिडको महामारी अझै नहटे पनि मदी हिमाल पदयात्रा भने खुला गरिएको छ । (लेखिका पोखराकी टुर तथा ट्रेकिङ गाइड हुन् ।)

667Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected