अन्नपूर्णको बजेट ५८ करोड ७८ लाख ७५ हजार सार्वजनिक(बजेट बक्तब्यको पूर्ण पाठ सहित)
- १० असार २०८०, आईतवार
- 3060

पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन उर्जा र पूर्वाधारमा जोड दिदै ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सामाजिक र आर्थिक रूपान्तरण मार्फ़त समृद्ध गाउँपालिका निर्माण गर्ने बताएकी छन् ।
गाउँपालिकाले आव २०८०/०८१ का लागि चालुतर्फ रु ४० करोड ५३ लाख ३५ हजार र पूँजीगत तर्फ १८ करोड २५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उपाध्यक्ष अधिकारीले पूर्वाधार विकासतर्फ रु १४ करोड ९० लाख ५० हजार, आर्थिक विकासतर्फ १४ करोड ६० लाख, सामाजिक विकासतर्फ ३२ करोड ३८ लाख ९० हजार विनियोजन गरिएको जानकारी दिईन् ।
त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५७ लाख, सुशासन तथा संस्थागत विकासमा ४६ लाख ३५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सेवा सर्भसुलव वनाउन स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउने, आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि तथा पशु सेवामा बिमा कार्यक्रम लागु गरी प्रभाबकारी कार्यान्वयन गर्ने बिषय बजेटमा समेटेको छ ।
भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने साथै सडकहरुको स्तरोन्नतीको लागि पक्की ढलान सडक निर्माणका लागि जोड दिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाको प्रशासनिक केन्द्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण र गाउँपालिका अन्तर्गतक वडाका वडाकार्यालय भवनहरु, विद्यालय भवन लगायतका पूर्वाधार संरचनाहरु र अन्य संघसस्था सामुदायिक भवन निर्माणग गर्ने बिषयलाई उच्च प्राथमिकतामा राखेको छ ।
त्यस्तै, स्थानीय गोरेटो, घोडेटो तथा सिढिबाटो निर्माण तथा सडक पूल र झोलुङ्गे पूलहरु निर्माण गर्ने, गुणस्तरीय र समुचित खानेपानीको व्यवस्थापनका लागि प्रत्येक घरमा एक घर एक धारा जडान अभियान कार्यक्रम संचालन गर्ने विषय बजेटमा समेटिएको छ ।
गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि शैक्षिक पूर्वाधारहरुको निर्माण, शिक्षक तथा विद्यार्थीहरुको उत्प्रेरणा अभिवृद्धि गर्ने, कृषि क्षेत्रको उत्पादन उत्पादकत्व अभिवृद्धि र अनुदानका कार्यक्रम मार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणमा जोड दिने बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।
यसैगरी, पर्यटन पूर्वाधारहरुको निर्माण र विकासका साथ अन्नपूर्ण गाउँपालिका भित्रका पर्यटकीय सम्भावनाका क्षेत्रहरुको समूचित विकास गर्दै पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने, आयआर्जन, क्षमताविकास र सशक्तिकरणका साथ मानव संसाधनको विकास गरी गाउँपालिकालाई आकर्षण केन्द्रको रुपमा स्थापित गर्ने, परम्परागत संस्कृति, मठ मन्दिर, गुम्बा तथा धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा सम्वर्द्धन र घरेलु तथा साना उद्योगहरुको एवं सहकारी क्षेत्रको विकास गर्ने, महिला, बालबालिका, आदीवासी जनजाति, दलित, जेष्ठ नागरिक, अपाङ्ग लगायत पछाडि परेका वर्गको उत्थान तथा विकासका र सामाजिक सुरक्षाकार्यक्रम संचालन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।
पालिकाले सरसफाई तथा फोहोरमैला व्यवस्थापन, वन वातावरण संरक्षण र विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन र वातावरण विकासलाई अगाडि बढाउने, गाउँपालिकाबाट प्रवाह गरिने सेवालाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखी तुल्याउनको लागि आवश्यक संरचनागत, संस्थागत र जनशक्ति विकास गर्ने र प्रबिधि मैत्री सेवा प्रबाह मार्फत सरल, सहज, झन्झट मुक्त नागरिक मैत्री सेवा प्रदान गर्ने कार्यक्रम लगायतलाई जोड दिएको छ ।
बजेट बक्तब्यको पूर्ण पाठ सहित