प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरूलाई शपथ, संसदीय इतिहासमा ज्येष्ठ सदस्यहरू
- March 26, 2026
- 117

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। विविध सांस्कृतिक भेषभूषामा सजिएका सांसदहरूको उपस्थितिले शपथ समारोहलाई थप आकर्षक बनाएको थियो।
यसपटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अन्य सांसदहरूलाई शपथ गराएका हुन्। ७८ वर्षीय केसीलाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
ज्येष्ठ सदस्यद्वारा शपथ गराउने परम्परा
नेपालको संसदीय अभ्यासमा ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था २०४८ सालदेखि निरन्तर चल्दै आएको छ। त्यसअघि २०१५ सालमा भने कार्यकारी अध्यक्षका रूपमा गिरीप्रसाद बुढाथोकीले सांसदहरूलाई शपथ गराएका थिए।
२०४७ सालको संविधानले सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान राखेपछि यो अभ्यास संस्थागत बनेको हो।
संसदीय इतिहासमा ज्येष्ठ सदस्यहरू
नेपालको संसदीय इतिहासमा विभिन्न समयमा ज्येष्ठ सदस्यहरूले संसद् सञ्चालन र शपथ गराउने जिम्मेवारी सम्हाल्दै आएका छन्:
• २०४८ साल – खलील मियाँ
• २०५१ साल – बलबहादुर राई
• २०५६ साल – गिरिजाप्रसाद कोइराला
• २०६३ साल (पुनर्स्थापित संसद्) – बलबहादुर राई
• २०६४ साल (संविधान सभा) – कुलबहादुर गुरुङ
• २०७० साल (दोस्रो संविधान सभा) – सूर्यबहादुर थापा
• २०७४ साल – महन्थ ठाकुर
• २०७९ साल – पशुपति शमशेर जबरा
• हाल (२०८१/८२) – अर्जुननरसिंह केसी





सम्बन्धित खवर















