0Shares

पोखरा, कार्तिक १४ । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले चाडपर्वको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मृगौला पीडितलाई उपचारका लागि ३६ हजार ६०५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति, कास्कीको आयोजनामा पोखरा–१७ बिरौटास्थित पावर हाउस रिसोर्टमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ का मृगौला पीडित विष्णु कामीलाई उपचार सहयोगस्वरूप संकलित उक्त रकम हस्तान्तरण गरिएको हो।

चाडपर्वका अवसरमा आयोजना गरिने कार्यक्रमलाई औपचारिक शुभकामना आदान–प्रदान र भेटघाटमा मात्र सीमित नराखी मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले यसपटक फरक ढंगले कार्यक्रम आयोजना गरिएको महानगर सभापति सुरेन्द्रमान विजुक्छेले बताए। उनका अनुसार समाजमा अप्ठ्यारो परिस्थितिमा रहेका नागरिकलाई सहयोग गर्नु राजनीतिक दल तथा सामाजिक संस्थाको समेत दायित्व भएकाले कार्यक्रमकै अवसरमा सहयोग रकम संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको हो।

नेपाली कांग्रेसका सभापति गगन थापाको निर्देशनअनुसार पार्टीका गतिविधि तथा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जनताका सुखदुःखमा सहभागी हुने उद्देश्यलाई प्राथमिकता दिइएको महानगर समितिका सचिव धनञ्जय पौडेलले बताए। पार्टीका कार्यक्रमलाई सामाजिक सेवासँग जोड्ने सोचअनुरूप मृगौला पीडितलाई उपचार सहयोग उपलब्ध गराइएको उनको भनाइ थियो।

राजनीतिक दलका गतिविधि सभा, समारोह र औपचारिक कार्यक्रममै सीमित नभई नागरिकका वास्तविक समस्या तथा आवश्यकतासँग जोडिनुपर्ने सन्देश दिन पनि यस्तो पहल गरिएको महानगर समितिले जनाएको छ।

महानगर सभापति सुरेन्द्रमान विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्य प्रमुख अतिथि तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू तिलक रानाभाट, लक्ष्मी पाण्डे, डा. कृष्णप्रसाद पौडेल र किरण केसीलाई सम्मान गरिएको थियो। त्यसैगरी प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति तथा पोखरा महानगरपालिकाका ३३ वटै वडाका सभापतिहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुने प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ का सरोज केसी, क्षेत्र नं. २ का नवीन बराल र क्षेत्र नं. ३ का प्रकाश बराल रहेका छन्। प्रदेशसभा क्षेत्रीय सभापतिहरू नरेन्द्र थापा, अर्जुन गुरुङ, भोजराज आचार्य, अमृत तिमिल्सिना, मेखबहादुर तामाङ र विजय गुरुङलाई पनि सम्मान गरिएको थियो।

पार्टीको संगठन निर्माण, स्थानीय तहमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई निरन्तरता दिन योगदान पुर्‍याएका नेता तथा कार्यकर्तालाई सम्मान गर्दा संगठनभित्र आपसी सद्भाव, एकता र जिम्मेवारीबोध थप बलियो हुने विश्वास सभापति विजुक्छेले व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्यले कार्यक्रमको ब्यानरमा उल्लेखित ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नाराले पार्टीको वर्तमान आवश्यकता र भावी दिशालाई प्रतिनिधित्व गरेको बताए।

उनले कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने भए पनि कांग्रेस भएर कांग्रेसकै विरोध गर्ने प्रवृत्ति संगठनका लागि घातक हुने उनको भनाइ थियो। पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए।

विशेष अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्व सह- महामन्त्री जिवन परियार, नवनिर्वाचित केन्द्रीय सदस्य तिलक रानाभाट, डा. कृष्ण प्रसाद पौडेल, लक्ष्मी पाण्डे, कास्कीका सभापति किशोरदत्त बराल, क्षेत्रीय सभापतिहरू क्षेत्र नं. १ का सरोज केसी, क्षेत्र नं. २ का नवीन बराल र क्षेत्र नं. ३ का प्रकाश बराल, क्षेत्र नं.३ का निवर्तमान सभापति मनोज गुरुंगलगाएत एक दर्जनभन्दा बढी वक्ताले पार्टीको वर्तमान चुनौती सामना गर्न आन्तरिक एकता अपरिहार्य रहेको धारणा राखेका थिए। उनीहरूले आपसी अविश्वास र गुटगत प्रवृत्तिभन्दा माथि उठेर संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र पार्टीको राजनीतिक उद्देश्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।

वक्ताहरूले कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्न राजनीतिक प्रतिबद्धतासँगै सामाजिक सेवाका कामलाई पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। चाडपर्वको अवसरमा आयोजित कार्यक्रमलाई मानवीय सहयोग र संगठनभित्र योगदान पुर्‍याएका व्यक्तित्वको सम्मानसँग जोड्नु सकारात्मक अभ्यास भएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा पोखरा महानगर कार्यसमितिका सचिव धनञ्जय पौडेलले सञ्चालन गरेका थिए। महिला उपसभापति सुचिता तामाङ र वडा नं. १७ का सभापति डीआर भट्टराईले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक तथा महानगर समितिका उपसभापति कीर्तिबल्लभ त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए।

बडादशैं, शुभदीपावली, नेपाल संवत्, छठ, ल्होछार तथा ईद पर्वको अवसरमा आयोजित कार्यक्रमले विभिन्न समुदायबीच आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश दिनुका साथै सामाजिक सेवामार्फत नागरिकसँग जोडिने राजनीतिक संस्कारलाई समेत उजागर गरेको छ।

शुभकामना आदान–प्रदान र सम्मानसँगै उपचारको पर्खाइमा रहेका मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु कार्यक्रमको महत्वपूर्ण पक्ष बनेको थियो। राजनीतिक दलका कार्यक्रमलाई नागरिकका दुःख, समस्या र आवश्यकतासँग जोड्न सके मात्र जनतासँगको सम्बन्ध थप सुदृढ हुने सन्देश यस पहलले दिएको महानगर समितिका सहसचिव दामु पराजुलीले बताए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected