फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह थपिएको छ । विभिन्न सात देशका चर्चित ट्राभल टिकटकर्समध्ये यूएई र ट्युनिसियाका तीन जना कन्टेन्ट क्रिएटर फ्लाई दुबईको विमानबाट सिधै पोखरा ओर्लिएका छन् । पोखरामा पाएको आत्मीय स्वागतले उनीहरू निकै खुसी देखिएका थिए ।
नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल ल्याइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । सोही अभियानअन्तर्गत फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका चर्चित कन्टेन्ट क्रिएटरहरू नेपाल आएका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशी पाहुनालाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए । पोखरामा पाएको स्वागत र आतिथ्यले विदेशी क्रिएटरहरू उत्साहित बनेका थिए ।
अन्य क्रिएटरहरूलाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए ।
यस अभियानअन्तर्गत विदेशी क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । भ्रमणका क्रममा उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, साहसिक गतिविधि र पर्यटन व्यवसायका अनुभव समेटिएका भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत ती सामग्री विश्वभरका दर्शकमाझ पुर्याउनेछन् । यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस भ्रमणमा बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।
त्यसैगरी फ्रान्सका जेरेमी ब्युडेटले चितवन पुगेर वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई विश्वसामु प्रस्तुत गर्नेछन् ।
एनटीबी र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभर पुर्याउने लक्ष्य राखेको छ ।
यस सहकार्यलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको वरिष्ठ प्रबन्धक थपलियाले बताए ।
यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो । कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
क्रिएटरहरूले भ्रमणका क्रममा पर्यटकीय गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, होटल तथा आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभवलाई समेत आफ्ना सामग्रीमा समेट्नेछन् ।
युवा पुस्तामाझ लोकप्रिय टिकटकमार्फत प्रसारण हुने छोटा भिडियोले नयाँ पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्नुका साथै सम्भावित पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास गरिएको छ ।
विशेषगरी पोखरा, चितवन र बर्दियाजस्ता पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा यस अभियानले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । डिजिटल माध्यमबाट नेपालको पर्यटन कथा विश्व बजारसम्म पुर्याउने यो पहलले स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुर्याउने विश्वास बोर्डले लिएको छ ।











